Ads

वारागुङ मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ हर्षोल्लासपूर्वक सुरु


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ऐतिहासिक तथा सांस्कृतिक पर्व ‘यार्तुङ’ सुरु भएको छ। यस वर्षको पर्व गाउँपालिका–१ स्थित खिङ्गा गाउँबाट औपचारिक रूपमा आरम्भ गरिएको हो। सोमबार खिङ्गा गाउँका स्थानीयवासीले पर्वलाई हर्षोल्लासपूर्वक मनाएका छन्।

‘यार्तुङ’ भन्ने शब्दमा ‘यार’ को अर्थ बर्खा र ‘तुङ’ को अर्थ समाप्ति भन्ने बुझाइ रहिआएको छ। बर्खायामको अन्त्य र हिउँदयामको सुरुआतको संकेतस्वरूप यो पर्व मनाइने गरिएको हो। खेतबारीको उवा र जौँ झारेर फापर छरेपछि फुर्सदिलो समयमा मनाइने यार्तुङ सदीयौँदेखि धार्मिक र सांस्कृतिक पर्वको रूपमा स्थापित छ।

वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार पर्वको मूल उद्देश्य प्रकृति र विश्वशान्तिको कामना गर्नु हो। गाउँपालिकाभित्रका १९ वटै गाउँ र उपल्लो मुस्ताङका विभिन्न स्थानमा फरक तिथिमा यो पर्व मनाइन्छ।

सोमबार खिङ्गा गाउँका सम्पूर्ण घरधुरीका नागरिक समाजघरमा भेला भएका थिए। सामूहिक पूजा कार्यक्रमपछि गाउँका गुरुङ समुदाय गुम्बामा पूजा गर्दै पर्व आरम्भ गरेका थिए। पूजा सम्पन्नपछि सबै सहभागीहरू मौलिक वेशभूषामा सजिएर मुक्तिनाथ मन्दिर र नरसिंह गुम्बाको दर्शनका लागि निस्केका थिए।

यस वर्ष खिङ्गा गाउँबाट अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष र महिलाको टोलीले करिब पाँच किलोमिटर दूरीमा रहेको मुक्तिनाथसम्म घोडा सवार गर्दै यात्रामा भाग लिएको थियो। पुरुषहरू घोडामा सवार थिए भने महिलाहरू घोडाअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी ‘फेन्दुन छोकी रिला’ गीत गाउँदै हिँडेका थिए।

स्थानीय सेर्केनी गुरुङका अनुसार, “गीतमा यार्तुङको शुभ आगमन, अनिष्ट टरेको, प्रकृतिको साथ र विश्वशान्तिको कामना अभिव्यक्त गरिन्छ।”

मुक्तिनाथ पुगेको टोलीले त्यहाँको पुराङ रानीपौवा क्षेत्रमा घोडा दौड र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका थिए। स्थानीय युवाहरूले साहसिक घोडा दौड प्रदर्शन गरे भने समुदायका सदस्यहरूले स्याब्रो नाच र मौलिक गीतमार्फत पर्वको रौनक थपेका थिए।

स्थानीय याङजुङ गुरुङका अनुसार, “घोडा चढ्नेलाई यार्तुङ पर्वको अनिवार्य परम्परा मानिन्छ। घोडा सवार, तारा खेल, सांस्कृतिक प्रदर्शन र पुजारीले भोजन गरेपछि मात्र सामूहिक भोजन सुरु हुने प्रचलनले यो पर्व अझ विशेष बनाएको छ।”

यात्राका क्रममा खिङ्गाबाट मुक्तिनाथसम्मको बाटोमा घोडा लस्कर हुँदा दुर्घटनाको सम्भावना भएकाले करिब एक घण्टा सवारी आवागमनसमेत रोक लगाइएको थियो।

यार्तुङ पर्वले न केवल स्थानीय सांस्कृतिक पहिचान झल्काउँछ, तर समुदायबीच एकता, आस्थामा दृढता र वातावरणसँगको सहजीवनको गहिरो सन्देश पनि दिन्छ।

Ads

सम्बन्धित पोष्टहरू