म्याग्दी, पर्वत र कास्कीको सिमानामा अवस्थित जलजला धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण भए पनि पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ। पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको यो क्षेत्रलाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर र मृगस्थलीका रूपमा उल्लेख गरिएको छ।
धार्मिक अध्येता प्रा. डा. जगन्नाथ रेग्मीका अनुसार अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतजस्ता ग्रन्थमा कालञ्जर र हम्पालको प्रसङ्ग पाइन्छ। पौराणिक वाङ्मयमा यस स्थानलाई ऋषि–मुनीहरूले तपस्या गरी ज्ञान प्राप्त गर्ने स्थलका रूपमा वर्णन गरिएको छ। यहाँको जडीबुटी औषधीय रूपमा प्रयोग हुने, भ्रमण गर्दा पुण्य प्राप्त हुने, पिण्डदान गर्दा पितृलाई सद्गति प्राप्त हुने विश्वास रहिआएको छ।
तर, दुर्गम भौगोलिक अवस्थिति, यातायात असहजता, मानव बस्तीबाट टाढा हुनु र संरक्षण अभावका कारण कतिपय प्राचीन मन्दिर, सत्तल, गुफा र ओढार नामशेष हुने अवस्थामा पुगेका छन्।
समुद्री सतहबाट करिब ३,३०० मिटर उचाइमा अवस्थित जलजलाबाट अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको अप्रतिम दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट पर्वत, कास्की, बागलुङ र म्याग्दीका गाउँ तथा पहाडहरू स्पष्ट देखिन्छन्। आसपासका वाइफाइ डाँडा र माटेको लेकजस्ता स्थल पैदल यात्रीका लागि थप आकर्षण हुन्।
जैविक विविधतामा धनी यो क्षेत्रमा बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी, जटामसी, टिम्मुर, पाषणभेदलगायत दुर्लभ जडीबुटी पाइन्छन्। मृग, डाँफे, मुनाल, कालिज, च्याखुरा, लाटोकोसेरोसहितका वन्यजन्तु र पंक्षी यहाँका जैविक सम्पदा हुन्।
अतीतमा बर्खामा गोठालो लिएर जलजला आउने चलन हराउँदै गएको छ। हाल यो क्षेत्र घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र मोदी गाउँपालिकाका विभिन्न पदमार्गसँग जोडिएको छ। पर्वतको लेकफाँट र शालिजातर्फबाट कच्ची सडक पुगेको छ, जसको स्तरोन्नतिको माग भइरहेको छ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार मुस्ताङ र मुक्तिनाथ जाने तीर्थयात्रीलाई जलजलासम्म ल्याउने उद्देश्यले धार्मिक करिडोरको अवधारणा अघि सारिएको छ। धाइरिङको भूमेथानमा पूर्वाधार निर्माण, गौशाला सञ्चालन र विभिन्न मन्दिर तथा पदमार्ग विकासको काम भइरहेको छ।
संघीय सरकारले जलजलाको पर्यटन पूर्वाधारका लागि ३ करोड रुपैयाँको बजेट छुट्याएको छ। प्रदेश सरकारले माटेको लेकदेखि जलजला जोड्ने पदमार्ग र वाइफाइ डाँडामा आश्रयस्थल निर्माण गरेको छ। स्थानीयस्तरमा महायज्ञ र धार्मिक कार्यक्रममार्फत जलजलाको महत्व उजागर गर्ने प्रयास भइरहेका छन्।
स्थानीय व्यवसायी टीका पुनका अनुसार शरद र वसन्त ऋतुमा केही पदयात्री र भक्तजन आउने गरे पनि अन्य समयमा जलजला सुनसान हुन्छ। पर्याप्त प्रचार, पहुँचयोग्य पूर्वाधार र संरक्षण कार्य भएमा जलजला नेपालको प्रमुख धार्मिक तथा प्राकृतिक गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ।
प्रतिक्रिया दिनुहोस्