Ads

महिला सशक्तीकरण र उद्यमशीलताको उत्सव- २२औं डाबर तीज फेस्टिवल तथा सृजनशील उद्यमी मेला


महिलालाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता, स्वरोजगार र प्रविधिमैत्री वातावरणतर्फ प्रेरित गर्ने उद्देश्यसहित २२औं डाबर तीज फेस्टिवल तथा सृजनशील उद्यमी मेला २०८२ भव्यताका साथ प्रारम्भ भएको छ।

सृजनशील केन्द्रको प्रवर्द्धन, रायजिङ नेपाल प्रा.लि.को सहकार्य र इभेन्टसञ्चार डट कमको व्यवस्थापनमा आयोजना भएको यो मेला साउन २२  बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा उद्घाटन भएकाे मेला  २५ गतेसम्म  चल्नेछ । चार दिने मेलाकाे मुख्य प्रायोजक डाबर नेपाल हो। मेलाकाे उद्घाटन उद्योग मन्त्री दामोदर भण्डारीले गरेका हुन्।

विगत २२ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो मेलाले सीपमूलक तालिममार्फत ५०० भन्दा बढी महिलालाई स्वरोजगारमा उन्मुख गराइसकेको छ। महिला सृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले मेलालाई महिला उद्यमीको आर्थिक सशक्तीकरणतर्फको प्रभावकारी प्लेटफर्मको रूपमा चित्रण गर्दै भनिन्, “हामी नाफामुखी संस्था होइनौं। हाम्रो लक्ष्य महिला उद्यमीलाई बजारसम्म पु-याउने मात्र होइन, आर्थिक क्रान्तिको बाटोमा अघि बढाउने हो।” उनले नयाँ उद्यमीलाई प्रोत्साहनका लागि सरकार, मिडिया र विभिन्न साझेदार संस्थाहरूको सक्रिय सहयोगको आवश्यकता औंल्याइन्।

मेलामा सयभन्दा बढी स्टलहरू छन्, जसमा महिला सिर्जना, हस्तकलाका सामग्री, घरेलु उद्योग, सामाजिक संस्था, महिला बचत संघ र प्रविधिमैत्री संघसंस्थाहरूको सहभागिता छ। रायजिङ नेपाल प्रालिका प्रमुख पशुपति के.सीका अनुसार, मेलाले उत्पादन र प्रदर्शनीको दायरा विस्तार गर्दै महिला उद्यमीलाई बजारसँग प्रत्यक्ष जोड्ने लक्ष्य लिएको छ।

अवलोकनकर्तामा महिला दिदीबहिनी, नयाँ व्यवसाय सुरु गर्न इच्छुक व्यक्ति, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यटक, विद्यार्थी, कलाकार, पत्रकार, मिडिया प्रतिनिधि र सरकारी निकायका सदस्यहरू रहने अपेक्षा गरिएको छ।

मेलाको मुख्य आकर्षणमा घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शन, महिला उद्यमशीलता सम्बन्धी वस्तु तथा सेवा, तीज विशेष परिकार, निःशुल्क स्वास्थ्य शिविर, निशुल्क मेहेन्दी सेवा र विशेष उपहार व्यवस्था समावेश छन्। साथै, अशक्त, असहाय वा ग्रामीण पिछडिएका महिला उद्यमीका लागि पाँचभन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइएको छ, जसले मेलालाई अझ सामाजिक र समावेशी बनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू