Ads

पाँचतारे रिसोर्टमा ‘कोदो सेलरोटी’को बासना, विदेशी पाहुनासमेत मोहित


नेपाली तारे होटलमा नास्तासँगै बारा, अमलेट, जेरीजस्ता परिकार लाइभ–किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानो भए पनि कोदोका परिकारलाई विशेष महत्वसहित पस्किएको उदाहरण भने दुर्लभ छ। पछिल्ला वर्षमा कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहेका बेला बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ–किचनमार्फत प्रस्तुत गरी नयाँ स्वादको अनुभव गराएको छ।

गत शनिबार, पाँचतारे दर्जामा रहेको सो रिसोर्टमा प्रस्तुत दर्जनौँ परिकारमध्ये ‘कोदोको सेलरोटी’ विशेष आकर्षणको केन्द्र बन्यो। ग्राहककै सामुन्ने पकाइएको बासनादार सेलरोटीले नेपाली मात्र नभई विदेशी पाहुनाको समेत मुख रसाएको थियो। रिसोर्टको डाइनिङ हल सेलरोटीको सुगन्धले भरिएपछि विदेशी पाहुनाले यसबारे चासो राख्दै परिकारबारे सोधपुछ गरेका थिए। स्वाद चाखेपछि उनीहरूले रोटी थपी–थपी खान अघाएका थिएनन्। कतिपय नेपाली पाहुनाले त सेलरोटी प्याक गरेर घर लैजाने इच्छा समेत व्यक्त गरे।

नेपाली परिकारका लागि छुट्टै लाइभ–किचन स्टलमा कोदोको सेलरोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यानकेक, शेर्पा समुदायमा प्रचलित ‘रिकीकुर’ र ‘पानको लड्डु’ पनि पस्किएको थियो। भोजनलिपि स्वाद नामक नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत सेफ घनश्याम कँडेलको नेतृत्वमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र सङ्गम मोक्तानको टोलीले यी परिकार तयार पारेका हुन्।

यस क्षेत्रमा जानकारहरूले विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र मेन्यू अनिवार्य गर्न सके यसको प्रवर्द्धन तीव्र गतिमा हुने बताउँछन्। *होटल सङ्घ नेपाल (हान)*का अध्यक्ष विनायक शाहका अनुसार रैथाने खाना संरक्षण, प्रवर्द्धन र यसको व्यवसायिकता सबैको साझा दायित्व हो। “नेपाली खानाको ठूलो माग छ, त्यसैले ठूला तारे होटलमा यसको समावेश अनिवार्य हुनुपर्छ,” उनले भने। हानको ६०औँ वर्षगाँठको अवसरमा ६० प्रकारका रैथाने खानाको परिकारबारे पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।

अभियानका संयोजक देवीप्रसाद सापकोटाले नेपाली र विदेशी दुवैलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। “नेपालीलाई आफ्नै खानाबारे सचेत गराउने र विदेशी पाहुनालाई आकर्षित गर्ने हाम्रो उद्देश्य हो,” उनले भने।

सेफ कँडेलले नेपाली खानालाई पाँचतारे होटलमा अनिवार्य रूपमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार विदेशी पाहुनाले नेपालमा रहँदा सहजै नेपाली परिकार चाख्न पाउने वातावरण सिर्जना गर्नुपर्छ। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले पनि नेपाली खाना स्वस्थकर र पोषिलो भएकाले यसलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै मेनुमा समावेश गर्नुपर्नेमा जोड दिए।

‘भोजनलिपि स्वाद’ अभियानले यसअघि विभिन्न रेस्टुराँमार्फत पाँच संस्करण पूरा गरिसकेको छ। यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकारलाई प्रयोगमा ल्याइएको छ।

Ads

सम्बन्धित पोष्टहरू