Ads

कर्णालीबाट ३६५ मेट्रिक टन सुकाएको अदुवा–बेसार युरोप निर्यात


कर्णाली प्रदेश, आर्थिक वर्ष २०८१/८२ मा तीन सय पैँसठ्ठी (३६५) मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकहरूमा निर्यात भएको छ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी विशेष गरी जर्मनी पठाउने कार्य सुरु गरिएको हो।

सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा र बेसार सुर्खेतको छिन्चुस्थित ‘द अर्ग्यानिक भ्याली’ मार्फत सङ्कलन गरिन्छ। यस कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्ग्यानिक उत्पादन पनि प्रमाणीकरण गरी जर्मनीलगायतका मुलुकमा निर्यात गर्दै आएको छ।

मन्त्रालयका तथ्यांकअनुसार, प्रदेश स्थापनाकालदेखि हालसम्म कृषि क्षेत्रमा रु १८ अर्ब ४७ करोड विनियोजन भएकामा करिब रु १४ अर्ब बराबरको रकम लगानी भइसकेको छ।

आर्थिक वर्ष २०८१/८२ मा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार शीर्षकअन्तर्गत सात सय ४७ वटा योजना कार्यान्वयन भएका छन्। यस अवधिमा १९ हेक्टरमा ४,०४४ वटा स्याउका बिरुवा र २५ हेक्टरमा २,८२४ ओखरका बिरुवा रोपिएका छन्। साथै, २०,१०० सुन्तला, १५,४०० कागती, २,००० ओखर र १,००० स्याउका बिरुवा पनि रोपिएका छन्।

खाद्य सुरक्षा कार्यक्रममार्फत १०,००० स्याउ, १,९५० ओखर, ३,२७० सुन्तला र २,००० लिचीका बिरुवा वितरण गरिएको छ।

खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका २१ क्विन्टल धानसहित विभिन्न बालीका बीउ उत्पादनमा प्रोत्साहन दिइएको मन्त्रालयले जनाएको छ। गत वर्ष २१.२९ मेट्रिक टन सागसब्जीका बीउ प्रमाणीकरण गरिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू