Ads

पर्वतको काखमा लुकेको नीलो रत्न-जल्पाताल


चारैतिर अग्ला पहाड, बीचमा नीलो आकाश प्रतिबिम्बित गर्ने निश्चल पानी, वरिपरि रंगबिरंगका फूलले सजिएको पाटन—यो दृश्य देख्ने जो कोही मोहित हुन्छ।
रूकुम पूर्वकाे पुथाउत्तरगंगा गाँउपालिका ५ मा अवस्थित समुद्री सतहबाट ४,४०० मिटर उचाइमा रहेको जल्पाताल यस्तै अनुपम सौन्दर्यको धनी हो। स्वर्गसरी यो पाटनमा बर्खामा भेडीगोठालाहरू पुग्छन्, तर पर्यटकको पाइला भने अझै छिटफुट मात्र परेको छ।

ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा पुगिने जल्पाताल बागलुङ र रुकुमपूर्वको सीमा क्षेत्रमा पर्छ। उचित पदमार्ग र प्रचार–प्रसारको अभावले सम्भावना हुँदाहुँदै पनि यो गन्तव्य अझै गुमनाम छ। छिटफुट आउने पर्यटक अनुमानको भरमा बाटो खोज्दै तालसम्म पुग्ने गर्छन्।

ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुन भन्छन्, “बुकीपाटन पनि कहिल्यै ओझेलमै थियो। प्रचार–प्रसार र पदमार्ग निर्माण भएपछि अहिले दैनिक सयौँ पर्यटक पुग्छन्। जल्पातालमा पनि त्यस्तै पूर्वाधार बनाउने हो भने यो अर्को चर्चित गन्तव्य बन्नेछ।”

पत्रकार विनोद ढुङ्गाना, जो तनहुँबाट यहाँ घुम्न आएका थिए, तालको सौन्दर्य देखेर मोहित भए। उनले भने, “यो त स्वर्गको टुक्रा जस्तै हो। तर पदमार्ग र सूचना बोर्डको अभावमा धेरैले यसको अस्तित्व नै थाहा पाएका छैनन्।” उनले ताल वरिपरि देखिएको भूक्षयीकरणका कारण संरक्षणमा पनि तत्काल ध्यान दिनुपर्ने बताए।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले पदमार्ग निर्माण र सूचना बोर्ड राखेर जल्पाताललाई पर्यटकीय नक्सामा ल्याउने योजना सुनाए। उनका अनुसार, स्थानीय स्रोत मात्र पर्याप्त नभएकाले प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर पूर्वाधार निर्माण गरिनेछ। साथै, जल्पातालसहित अन्य गन्तव्यको प्रवर्द्धनका लागि पर्यटन महोत्सव आयोजना गर्ने तयारी पनि भइरहेको छ।

नयाँ र शान्त गन्तव्य खोज्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि जल्पाताल एक अनुपम विकल्प हो—तर यसको ख्याति फैलाउन प्रचार–प्रसार, पूर्वाधार र संरक्षण अपरिहार्य देखिन्छ। समयमै पहल भएमा जल्पाताल निकट भविष्यमा बुकीपाटन जस्तै चर्चित गन्तव्य बन्नेमा सन्देह छैन।

Ads

सम्बन्धित पोष्टहरू