Ads

एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै


काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । दलका एक सांसदका अनुसार बिहान साढे १० बजे हुने बैठकका लागि ‘जरुरी र महत्त्वपूर्ण विषय’ शीर्षकसहित सूचना पठाइएको छ ।

बैठकको एजेण्डा औपचारिक रूपमा प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित विधेयकहरूमा दलको साझा धारणा बनाउन आकस्मिक छलफल बोलाइएको बताइएको छ ।

यसबाहेक, नेपाली कांग्रेस र एमालेबीच उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न महाअभियोग प्रस्ताव दर्ता गर्ने सम्भावित तयारीबारे समेत बैठकमा छलफल हुने अनुमान गरिएको छ । सांसदहरूलाई सोही प्रयोजनका लागि हस्ताक्षर गर्न समेत आह्वान गरिएको बताइन्छ ।

उपसभामुख रानामगरमाथि संसद सचिवालयको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि सिफारिस पत्र लेखेको आरोप लागेको छ । सो प्रकरणमा छानबिनको माग हुँदै आएको छ ।

संविधानअनुसार उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले, हाल परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो । यही विषय फेरि सक्रिय बनेसँगै एमालेले आकस्मिक बैठक बोलाएको बुझिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू