बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा स्थापना गरेको ‘पञ्चधुरा होममेड अचार उद्योग’ अहिले स्थानीय आत्मनिर्भरता र उद्यमशीलताको उदाहरण बनेको छ। भान्सामा जमेका सीपलाई उद्योगका रूपमा रूपान्तरण गर्दै यहाँका ११ जना महिलाले सामूहिक प्रतिबद्धता, श्रम र लगानीमार्फत आयआर्जनको नयाँ बाटो खोलेका छन्।
राजनीतिमा समेत सक्रिय प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँको समयमा केही नयाँ काम गर्ने संकल्प गर्दै स्थानीय फलफूल र तरकारीको सदुपयोग गरेर अचार बनाउन सुरु गरेकी थिइन्। बजारमा उत्पादनको माग बढेपछि उनले अन्य महिलालाई समेत सामेल गराउँदै समूह गठन गरिन्। विसं २०८१ भदौमा औपचारिक रूपमा समूह बनेपछि ‘पञ्चधुरा होममेड अचार उद्योग’ नाम दिइएको हो।
हाल उद्योगमा आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सस्र्यू, लप्सीलगायतका परिकारबाट विभिन्न अचार उत्पादन हुँदै आएको छ। साथै सेल, अनर्सा, खजुरी, पत्रे, नमकिन र बदामको घुगनी जस्ता परिकारले उद्योगलाई थप लोकप्रिय बनाएको छ। बर्दिबासस्थित सरकारी कार्यालय र स्थानीय उपभोक्ता नियमित ग्राहक बनेका छन्।
उद्योगलाई थप सबल बनाउन अष्ट्रेलियन दातृ संस्था आइसिमोड (ICIMOD) ले अचार बनाउन, मसला पिँध्न, पिठो उत्पादन गर्न तथा चिस्यान व्यवस्थापन गर्न फ्रिजसहित आवश्यक उपकरण उपलब्ध गराएको छ। यसले महिलालाई सीप विकाससँगै उत्पादनमा गुणस्तर कायम राख्न सहयोग पुगेको छ।
समूहमा प्रत्येक महिलाले रु १० हजारका दरले प्रारम्भिक लगानी गरेका थिए। अहिले उद्योगले न केवल उत्पादन र बिक्रीमा सफलता पाइरहेको छ, महिलाको सीप आदान–प्रदान र आपसी सहकार्यको केन्द्रसमेत बनेको छ।
समूहकी सदस्य लक्ष्मी कोइरालाले भनिन्, “समूहमा भएपछि एकअर्काको सीप सिक्ने र साझा अठोटसँगै अघि बढ्ने अवसर मिल्यो। अब थप परिकार विस्तार र महिला सदस्यको संख्यावृद्धि गर्ने हाम्रो योजना छ।”
समूहका प्रयासलाई नगरपालिकाले समेत सराहना गरेको छ। उपप्रमुख तारादेवी महतोका अनुसार, “दिदीबहिनीले उदाहरणीय काम देखाउनुभएको छ। अब यो उद्योगलाई अझ सबल बनाउन नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्नेछ।”
आइसिमोड मधेस कार्यालयकी कृषि उपनिर्देशक इजाबेला कोजेलले पनि यस समूहको लगनशीलता र प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा यो उद्योगले थप सफलता पाउने विश्वास व्यक्त गरिन्।
राजनीतिक रूपमा संलग्न भए पनि महिलाले गरेको यो उद्यमशील प्रयास सेवामूलक भएको कोइरालाको भनाइ छ। “राजनीति पेशा होइन, सेवाको क्षेत्र हो भन्ने सन्देश दिन हामीले आयआर्जनलाई प्राथमिकता दिएका हौँ,” उनले भनिन्।
आज ‘पञ्चधुरा होममेड अचार उद्योग’ केवल अचार वा परिकार बेच्ने व्यवसाय मात्र नभई, महिलाको आत्मनिर्भरता, सामूहिकता र क्षमता प्रदर्शन गर्ने सफल अभियानका रूपमा स्थापित भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्