Ads

भारतबाट ल्याइएको मुर्रा राँगो मर्‍यो


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा ल्याएको मुर्रा राँगो मरेको छ । साउन १७ गतेदेखि बिरामी रहेको मुर्रा साउन ३० गते मरेको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराले जानकारी दिएको छ ।

कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. महेन्द्र मल्लका अनुसार भ्यागुते रोगका कारण मुर्रा मरेको हो । “मुर्रा साउन १७ गतेबाट नै बिरामी थियो । हामीले परीक्षण पनि गर्‍यौँ । उपचारकै क्रममा साउन ३० गते साँझ ६ : ३० बजे मुर्रा राँगो मरेको हो,” उनले भने ।

कसरी मुर्रा मर्‍यो भनेर कृषि मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगानाको संयोजकत्वमा भएको टोलीले पनि जाँचबुझ गरेको छ । पोष्टमार्टम रिपोर्टमा नै भ्यागुते रोग लागेको भेटिएको मल्लले बताए ।

भारत भ्रमणमा जाँदा प्रचण्डलाई १५ वटा मुर्रा राँगा उपहार दिइएको थियो । यी राँगाहरू भारतबाट ०८० मंसिर ६ गते बाँके जिल्ला जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए ।

भारतबाट प्राप्त भएका १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् कार्यालय, लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन् कार्यालय, नेपालगन्जमा तीनवटा राखिएको थियो ।

मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र दश वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै देशका विभिन्न भागमा भैँसीको नश्ल सुधारमार्फत दूध र मासुको उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू