Ads

बेनीको कोप्रे झरना : गर्मी छल्ने नयाँ पर्यटकीय गन्तव्य


म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित कोप्रे झरना हाल गर्मीयाममा शीतलता खोज्ने बासिन्दा तथा पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । एक समय गुमनाम रहेको यो झरना पछिल्लो केही वर्षयता नयाँ पर्यटन स्थलका रूपमा विकास हुँदैछ ।

बेनी बजारबाट करिब दुई किलोमिटर पश्चिमतर्फ, म्याग्दी नदी किनार र अग्ला पहाडको फेदीमा रहेको करिब १५० मिटर अग्लो कोप्रे झरना विशेषगरी सार्वजनिक बिदामा युवायुवतीदेखि प्रौढसम्मका लागि रमणीय स्थल बनेको छ ।

शान्त र एकान्त वातावरणमा छङछङ गर्दै खस्ने झरनाको फेदीमा समय बिताउँदा अनौठो आनन्द महसुस हुने स्थानीय प्रीति छन्त्यालको अनुभव छ । उनी भन्छिन्, “व्यस्त दैनिकी र सहरको कोलाहलबाट टाढा भएर प्रकृतिसँग रमाउँदा जीवनमा नयाँ ऊर्जा प्राप्त भएको महसुस हुन्छ ।”

हिउँदमा सानो देखिने तर बर्खामा विशाल रूप लिने कोप्रे झरना भिरालो चट्टानमा लडीबुडी खेल्दै खस्दा मनमोहक दृश्य सिर्जना गर्छ । घाम लाग्दा झर्ने पानीमा इन्द्रेणी देखिनु झनै आकर्षणको विषय बनेको छ । यही कारण, पर्यटकहरूले यहाँ भिडियो खिची टिकटक, रिल्स र स्टोरी बनाउन थालेका छन् ।

स्थानीय बासिन्दा नारायणबहादुर कार्कीले व्यक्तिगत पहलमा चौतारी निर्माण गरेर वर र पिपलका रुख रोपेका छन् । त्यस्तै, बेनी नगरपालिकाले करिब रु २ लाख ५० हजार खर्चेर आश्रयस्थल, पार्किङ क्षेत्र र फलामे बेञ्च जडान गरेको छ भने चालु आर्थिक वर्षमा थप रु २ लाख पूर्वाधार निर्माणका लागि विनियोजन गरेको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारमार्फत हाडेभिर–बगरफाँट–दूधेखोला हुँदै भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ । यसले कोप्रे झरनातर्फको पहुँच सहज बनाउने र आगामी दिनमा यो क्षेत्रलाई अझ व्यवस्थित पर्यटन स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको नगरप्रमुख केसीले बताए ।

आजको दिनमा, कोप्रे झरना केवल प्राकृतिक सौन्दर्यको प्रतीक मात्र नभई बेनीका बासिन्दा तथा बाह्य पर्यटकहरूको प्रिय ‘गर्मी छल्ने थलो’का रूपमा उदाउँदै छ ।

Ads

सम्बन्धित पोष्टहरू