काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) लाई नेपालले समर्थन नगरेको बताएका छन्।
शनिबार चीनको थियानचिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको दुई पक्षीय भेटमा जीएसआईबारे कुनै सहमति नभएको उनले स्पष्ट पारे।
भेटवार्तामा सहभागी पूर्वअर्थमन्त्री खतिवडाले रासससँग कुरा गर्दै भने, “नेपाल संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ। कुनै पनि मुलुकको सुरक्षा रणनीतिको अंग बन्ने स्थिति छैन।”
चीनले भेटपछि जारी गरेको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको आशय देखाइएपछि खतिवडाले यथार्थ बाहिर ल्याएका हुन्। उनका अनुसार यस्ता अन्तर्राष्ट्रिय सम्मेलनका साइडलाइन वार्तामा सामान्यत: औपचारिक सहमति वा सम्झौतामा हस्ताक्षर हुँदैन, र यसपटक पनि त्यस्तो भएको छैन।
उनले नेपाल–चीनबीच यसअघिका बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका सम्झौता तथा सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा प्राथमिक छलफल भएको जानकारी दिए। साथै, दुवै पक्षले सम्पर्क सञ्जाल विस्तार, औद्योगिक र पूर्वाधार विकास, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान–प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप व्यवस्थापन, जनस्तरको सम्बन्ध र गरिबी निवारणलगायत क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेको बताए।
खतिवडाका अनुसार चीन नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा सघाउन इच्छुक छ। प्रधानमन्त्री ओलीको यसअघि २०८१ मंसिरको औपचारिक भ्रमणमा समकक्षी ली छ्याङको उपस्थितिमा टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि र भैंसीको मासु निर्यातसम्बन्धी सम्झौता भएको थियो।
प्रतिक्रिया दिनुहोस्