शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच सोमबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।
थियानजिनस्थित होटेल रिट्ज कार्लटोनमा भएको उक्त भेटको प्रारम्भमा सञ्चारकर्मीसमक्ष दुई नेताबीच संक्षिप्त छलफल भएको थियो। त्यसपछि करिब आधा घण्टा ओली र पुटिनबीच एक्लाएक्लै गहन वार्ता चलेको थियो। अन्तिम चरणमा भने दुवै नेताले प्रतिनिधिमण्डलका सदस्यहरूसँग पनि विचारविमर्श गरेका थिए।
राष्ट्रपति पुटिनले नेपाल–रुस सम्बन्धको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै तत्कालीन सोभियत सङ्घ र नेपालबीच १९५६ जुन ५ देखि जुलाई ९ सम्म कूटनीतिक सम्बन्ध स्थापनासँगै सुरु भएको मित्रतालाई अझ सुदृढ रहेको बताए। उनले नेपाल–रुस सम्बन्धमा कुनै समस्या नरहेको र आपसी सहयोगलाई निरन्तर प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री ओलीले व्यस्त कार्यतालिकाबीच पनि नेपाललाई समय दिएकोमा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धलाई अझ व्यापक बनाउन आग्रह गरे। उनले रुसमा अध्ययन गरेर फर्किएका नेपाली नागरिकले विशेषतः चिकित्सा क्षेत्रसहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै रुसको शैक्षिक गुणस्तरको प्रशंसा गरे।
भेटवार्तामा दुवै नेताबीच उच्चस्तरीय भ्रमण आदान–प्रदानलाई नियमित गर्ने, शिक्षा, संस्कृति, पर्यटन, सूचना प्रविधि र लगानीलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल भएको थियो।
प्रधानमन्त्री ओली यसअघि एससिओ प्लस शिखर सम्मेलनका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङसहित विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग समेत भेटवार्ता गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्