Ads

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’


म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम आधार शिविरतर्फको पदमार्ग यतिखेर ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले रंगीन बनेको छ । हुमखोला–सुनखोला खण्डसम्म फुलिरहेका यी गुराँसले आधार शिविरतर्फ पाइला चाल्ने पर्यटक मात्र होइन, जोकोहीलाई मोहित बनाइरहेका छन् ।

हिमाल, ताल, झरना र मनोरम प्राकृतिक दृश्यावलोकनसहित यो पदमार्गको थप आकर्षण बनेको पोथ्रे गुराँस सामान्यतया जेठदेखि भदौ महिनासम्म फुल्ने गर्दछ । सानो रैथाने प्रजातिमा पर्ने पोथ्रे गुराँस तीन मिटर अग्लोसम्म बढ्न सक्ने वनस्पतिविद् कमल मादेनले जानकारी दिएका छन् ।

उनका अनुसार नेपालमा पाइने ३३ प्रजातिका गुराँसमध्ये पोथ्रे दुर्लभ मानिन्छ । डढेलो र अनियन्त्रित मानवीय क्रियाकलापका कारण यसको अस्तित्व संकटमा परेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा पोथ्रे मात्र नभई रातो, गुलाबी, सेतो र बैजनी रङका अन्य प्रजातिका गुराँस पनि देख्न सकिन्छ । यी बहुमूल्य प्राकृतिक सम्पदाको संरक्षणमा सम्बन्धित निकाय अझै संवेदनशील हुनुपर्ने मादेनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू