काठमाडौँ । सरकारले चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जीएसआई) सम्बन्धमा नेपालले कुनै प्रकारको सहमति नगरेको प्रष्ट पारेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनको तियानजिनमा भएको भेटवार्तामा नेपालले जीएसआईलाई समर्थन गरेको भन्ने समाचार सार्वजनिक भएपछि सरकारले त्यसलाई असत्य र आधारहीन भएको बताएको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईले सोमबार एक विज्ञप्ति जारी गर्दै मुलुकले अंगीकार गरेको असंलग्न परराष्ट्र नीतिप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए। उनले संवेदनशील विषयमा वास्तविकता नबुझी टिप्पणी नगर्न सबै पक्षलाई आग्रहसमेत गरे।
“नेपालले कुनै किसिमको सुरक्षा पहलमा सहमति जनाएको छैन। असंलग्न परराष्ट्र नीतिलाई हामी दृढतापूर्वक पालना गरिरहेका छौँ,” परराष्ट्र सचिव राईले भने।
उनका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको वार्तामा ‘ग्लोबल डेभलपमेन्ट इनिसियटिभ’ (जिडिआइ) लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा छलफल भएको थियो।
यसअघि केही सञ्चारमाध्यमले नेपालले चीनको जीएसआईमा समर्थन जनाएको भनी समाचार प्रकाशित गरेपछि भ्रम फैलिएको थियो। तर सरकारले पुनः स्पष्ट पार्दै नेपालले असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिरहेकाले कुनै पनि सुरक्षा गठबन्धन वा पहलमा सहभागी नहुने स्पष्ट सन्देश दिएको छ।
प्रतिक्रिया दिनुहोस्