Ads

सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गरौं : पोखरेल


सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेका बेला नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द हुन वा नखुल्दासम्म विगतका असल परम्परा र संस्कारलाई पुनर्स्थापित गर्ने अवसरको रूपमा लिनुपर्ने टिप्पणी गरेका छन्।

बिहीबार बिहान फेसबुकमै सन्देश लेख्दै महासचिव पोखरेलले भनेका छन्, “सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोशिस गरौँ। सुखद अनुभूति हुनेछ।”

उनको भनाइले सरकारले पछिल्ला दिनमा अघि सारेको सामाजिक सञ्जाल नियमन योजनालाई संकेत गरेको देखिन्छ।

सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीलाई अनिवार्य रूपमा दर्ता गर्न आह्वान गरेको थियो। सोही क्रममा दर्ता नभएकाहरूलाई बन्द गर्ने चेतावनी दिइएको हो।

सूचीकरणका लागि समयसीमा तोकिए पनि मेटालगायत प्रमुख सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, युट्युब) अझै दर्ता प्रक्रियामा सहभागी भएका छैनन्।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइटलाई सूचीकरण गरिसकेको छ। टिकटकलाई अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले निष्क्रिय पारेको थियो। तर, पछि सूचीकरणमा सहमति जनाएपछि अहिले टिकटक निर्वाध सञ्चालनमा छ।

सामाजिक सञ्जाल दर्ता र नियमनबारे सरकारले चालेको कदमलाई कतिपयले आवश्यक भनेका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्।

यता, सत्तारूढ दलकै महासचिव पोखरेलको टिप्पणीले सरकारले चालेको कदमलाई नै अप्रत्यक्ष समर्थन गरेको आभास दिलाएको छ।

Ads

सम्बन्धित पोष्टहरू