Ads

नाङ्लो उत्पादन होम्ताङको पहिचान : परम्परा र आम्दानी दुवै जोगाउँदै स्थानीय


हतुवागढी गाउँपालिका–६ होम्ताङका बासिन्दाले पुख्र्यौली पेशा नै बनेको बाँसको नाङ्लो बुनेर राम्रो आम्दानी गर्दै आएका छन्। स्थानीय जीवनयापनको भरपर्दो स्रोत बनेको यस परम्परागत सीप अहिले व्यावसायिक रूपमा स्थापित हुँदै गएको छ।

होम्ताङका अधिकांश घरपरिवार नाङ्लो बुन्ने कार्यमा संलग्न छन्। स्थानीयले बुनेका नाङ्लो ठेकेदारमार्फत घरैबाट बिक्री हुने गरेको छ। विशेषगरी भदौ, असोज र कात्तिक महिनामा नाङ्लोको उत्पादन र बिक्री बढी हुने गर्दछ। दसैँ, तिहार र छठलगायतका चाडपर्वमा तराई क्षेत्रमा यसको माग असाधारण रूपमा बढ्ने स्थानीयले बताएका छन्।

“नाङ्लो हाम्रो क्षेत्रको प्रमुख आम्दानीको स्रोत हो,” स्थानीय पूजा राई भन्छिन्, “घरका सबै सदस्य मिलेर नाङ्लो बुन्छौँ, यसैबाट वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ।” उनका अनुसार एक महिनामा करिब १५० वटा नाङ्लो बुन्न सकिन्छ र प्रतिगोटा रु ११० देखि १२० सम्म बिक्री हुने गरेको छ।

नाङ्लो व्यवसायी राजेन्द्र राईका अनुसार साविक लङ्खा, विथारा, लुम्बुवा र सोयागाउँका करिब ४१५ घरपरिवार व्यावसायिक रूपमा यस पेशामा संलग्न छन्। स्थानीयले बुनेका नाङ्लो पश्चिम नेपालका विभिन्न जिल्लामा मात्र होइन, भारतसमेत निर्यात हुने गरेको छ।

यस पेशाबाट गाउँमै राम्रो आम्दानी भइरहेको भए पनि अझै व्यावसायिकता ल्याउन आवश्यक रहेको व्यवसायी प्रकाश राई बताउँछन्। “हाम्रो गाउँका अधिकांश नागरिक नाङ्लो बुन्ने काममै छन्। यसबाट गाउँघरमा पैसा भित्रिएको छ। तर यसको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले प्रोत्साहन दिनुपर्छ,” उनले भने।

Ads

सम्बन्धित पोष्टहरू