नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आज भव्य समारोहसहित ललितपुरको सनराइज सभा हलमा सुरु भएको छ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो।
महाधिवेशन स्थल प्रवेशद्वारदेखि सभाहलसम्म प्रतिनिधि र पर्यवेक्षकलाई स्वागत र सहजीकरणका लागि स्वयंसेवक परिचालन गरिएको थियो। सभाहलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्सी व्यवस्थित गरिएको छ। दुवैतिर पार्टी र राष्ट्रिय झण्डा सजाइएको छ भने मञ्चमा ऐतिहासिक नेताहरूको तस्बिर राखिएको छ—बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिर, दायाँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनका तस्बिर। साथै टुँडाल शैलीका साना डिजिटल बोर्डले मञ्चलाई आकर्षक बनाइएको छ।
महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन्। पार्टी प्रचार तथा प्रकाशन विभागका अनुसार महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना सहभागी भई कुल दुई हजार ३४१ जनाको उपस्थिति रहेको छ।
प्रतिक्रिया दिनुहोस्