Ads

पुरानो नेतृत्वलाई चुनौती : माओवादी केन्द्रभित्र नयाँ पुस्ताको रूपान्तरण आवाज


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पछिल्ला दिनमा नेतृत्व र रूपान्तरणबारे तीव्र बहस सुरु भएको छ। पार्टीका वरिष्ठ नेता, विद्यार्थी तथा युवा नेताहरुले सामाजिक सञ्जालमार्फत खुलेरै प्रश्न उठाउन थालेका छन्।

पार्टीका नेता सुदन किरातीले फेसबुकमार्फत टिप्पणी गर्दै पार्टीभित्र प्रश्न गर्ने संस्कारलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन् :
“पार्टीभित्र सबै प्रकारका सीमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ। समयअनुसार पार्टी रूपान्तरणका लागि अभियान थालौँ। विज्ञानले प्रश्न गर्छ, भक्तले भगवान माग्छ। हामी विज्ञानको पक्षधर हौँ कि भगवानको? स्पष्ट बनौँ।”

त्यस्तै, माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष विराज थापाले पार्टी नेतृत्वलाई अब सक्रिय राजनीतिबाट विदा लिनुपर्ने सुझाव दिएका छन्। उनको भनाइमा, “अब कुनै पनि विलखबन्द नगरीकन प्रचण्ड ज्यु र उहाँको पुस्ताले सक्रिय पार्टी राजनीतिबाट विदा लिनुपर्छ। तपाईंहरूको योगदानलाई देशले सम्मान गर्छ, तर अब जनताको भावनाको सम्मान गर्दै राजनीतिमा फर्कने प्रयास नगर्नुहोस्। यदि यही पुरानो नेतृत्व फर्किन्छ भने हामी तपाईंहरूसँग सँगै जान सक्दैनौँ।”

यसैबीच सहिद सन्तति तथा विद्यार्थी नेता प्रतिक कार्कीले अझ कडा भाषामा आलोचना गर्दै पुराना नेताहरूलाई राजनीतिक रूपमा निष्क्रिय रहन आग्रह गरेका छन्। उनले लेखेका छन् :
“नौजवानहरूको एक दिने आन्दोलनले ढल्ने सत्ता चलाएर बसेका नालायकहरू लाजले पनि राजनीतिमा नफर्कनु पर्ने हो। तर अनेक षड्यन्त्रका सिद्धान्त फ्याकेर फर्कने कोसिस हुँदैछ। अब पार्टीको इतिहास, विचार र भविष्यलाई खेलवाड नगर्नू। तपाईंहरू माथि भ्रष्टाचार, नातावाद र कृपावादको गम्भीर आरोप छ, यसलाई चोर बाटोले सुधार्न सकिँदैन। अब पार्टी नौजवान र निष्ठावानहरूलाई जिम्मा लगाउनु नै तपाईंहरूको सबैभन्दा ठूलो योगदान हुनेछ।”

यी तीनै नेताका अभिव्यक्तिहरूले माओवादी केन्द्रभित्र नयाँ पुस्ताले पुरानो नेतृत्वलाई विस्थापन गरी पार्टी रूपान्तरण गर्नुपर्ने माग तीव्र बनेको स्पष्ट देखिन्छ। प्रचण्ड नेतृत्वको भविष्य र पार्टीको दिशाबारे चर्को बहस अब औपचारिक रूपमै सतहमा आएको छ।

Ads

सम्बन्धित पोष्टहरू