नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीभित्रका Gen Z कार्यकर्ताहरूले पार्टीका सबै तहमा २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बुझाइएको उक्त ज्ञापनपत्रमा १९९७ देखि २०१२ बीच जन्मिएका कार्यकर्तालाई केन्द्रीयदेखि स्थानीय तहसम्मको संरचनामा कम्तिमा २५ प्रतिशत स्थान दिनुपर्ने स्पष्ट माग गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “हामी सक्रिय कार्यकर्ता तथा समर्थकहरूको साझा आवाजका रूपमा तपाईं समक्ष प्रस्तुत भएका छौं । हाल नेपालको ठूलो हिस्सा Gen Z मा भएकाले उनीहरूको आवाज पार्टीको संरचनागत तहमा प्रतिबिम्बित हुनुपर्छ ।”
Gen Z समूहले पार्टी विधान संशोधनमार्फत आरक्षणको व्यवस्था गर्ने, आगामी विशेष अधिवेशन वा महाधिवेशनमार्फत संख्यात्मक प्रतिनिधित्व सुनिश्चित गर्ने, विभागीय संरचनामा Gen Z समन्वय समिति गठन गर्ने र नेतृत्व विकास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सुझावसमेत दिएका छन् ।
युवापुस्ताको ऊर्जा, प्रविधि–दक्षता र नवीन दृष्टिकोणले मात्र पार्टीलाई दीर्घकालीन रूपमा जीवन्त बनाउन सक्ने उल्लेख गर्दै ज्ञापनपत्रमा चेतावनी दिइएको छ— नयाँ पुस्तालाई अवसर नदिए उनीहरू पार्टीबाहिर जान बाध्य हुने र संगठन कमजोर हुने सम्भावना रहन्छ ।
Gen Z कार्यकर्ताहरूले आफ्नो मागलाई केवल कोटा वा सांकेतिक समावेशीकरणको रूपमा नभई “पार्टी सुदृढीकरण, सशक्तीकरण र समयानुकूलताको अपरिहार्य पाटो” का रूपमा लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्