Ads

चिनियाँ प्रविधिको प्रयोग गरेर नेपालका सडक मजबुद बनाउन चीनसमक्ष मन्त्री घिसिङको प्रस्ताव


ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङले चीनसँग सडक तथा ऊर्जा पूर्वाधारका प्रमुख आयोजनामा प्रविधि र सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा चीनका राजदूत चेन सोङसँग भएको शिष्टाचार भेटमा मन्त्री घिसिङले नेपाल–चीनलाई जोड्ने काठमाडौ–कोदारी (अरनिको) र स्याप्रुबेंसी–रसुवागढी सडकलाई सुरक्षित र दिगो बनाउन चिनियाँ प्रविधि प्रयोग गरी मर्मत–संवर्धनमा सहयोग गर्न अनुरोध गरे। उनले यी दुबै सडक भौगोलिक दृष्टिले संवेदनशील र पहिरोप्रवण भएकाले स्थायी सञ्चालनका लागि उच्चस्तरीय प्रविधि आवश्यक रहेको बताए।

त्यसैगरी उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्डलाई चिनियाँ अनुदानमा निर्माण गर्ने योजना तत्काल कार्यान्वयन गर्न आग्रह गरे। ऊर्जा क्षेत्रमा उनले किमाथाङ्का हुँदै अर्को अन्तरदेशीय प्रसारण लाइन अगाडि बढाउन जोड दिंदै यसले नेपालको विद्युत् बजारलाई अझ प्रतिस्पर्धी बनाउने उल्लेख गरे।

भेटमा मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजना असन्तोषजनक रहेको भन्दै निर्माणमा सुधार आवश्यक रहेको बताए। साथै नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारलाई गति दिन चीनले सहजीकरण र आवश्यक सहयोग गर्नुपर्ने धारणा राखे।

राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न चीन सधैं तयार रहेको बताउँदै मन्त्री घिसिङलाई सफल कार्यकालका लागि शुभकामना दिए।

भेटमा नेपाल–चीनबीचको सडक तथा प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ लगानी र सहायतामा सञ्चालन भइरहेका आयोजनाको प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य लगायतका विषयमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभाग महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालयका उपसचिव मनहरी दङ्गाललगायतको उपस्थिति थियो।

Ads

सम्बन्धित पोष्टहरू