Ads

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको रक्षा र स्थायित्वका लागि आगामी २१ फागुनमै निर्वाचन सम्पन्न गर्नुपर्ने स्पष्ट बताएका छन्।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, “लोकतन्त्रको रक्षाका लागि २१ फागुनको निर्वाचन सम्पन्न गराउन माओवादीले विशेष जोड दिनेछ। यसका लागि वातावरण बनाउन हामी सबैले गम्भीर मेहनत गर्नुपर्छ।”

उनले निर्वाचनलाई समयमै सम्पन्न गराउनु लोकतान्त्रिक प्रक्रियाको निरन्तरता मात्र नभई जनताप्रतिको जवाफदेहितासमेत भएको उल्लेख गरे।

यसअघि २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको सम्भावना नदेखिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी २१ फागुनमा निर्वाचन गर्ने मिति तोकेका छन्।

प्रचण्डले अन्तरिम सरकारले तोकेको उक्त निर्वाचन मितिलाई समयमै सम्पन्न गराउन माओवादी केन्द्र अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू