Ads

‘पुराना नेताबाट परिवर्तनको आशा छैन, नयाँ पुस्ताले विद्रोह गर्नुपर्छ’: डा. भट्टराई


नेपाल समाजवादी पार्टी (नेसपा)का निवर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलका नेताबाट मुलुकमा रूपान्तरण र सुधारको अपेक्षा गर्न नसकिने बताएका छन्।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता परम्परागत दलका नेताहरू सुधारिन सक्ने सम्भावना अब समाप्त भइसकेको दाबी गरे। उनले भने, “पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन्, टाउकोसम्म कुहिएर बसेको शक्तिबाट परिवर्तन सम्भव छैन।”

उनका अनुसार अबको राजनीतिक रूपान्तरण पुराना पार्टीभित्रकै दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विद्रोह गरेर सम्भव हुन्छ। “त्यो पुस्ताका साथीहरूले विद्रोह गरेर नयाँ वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,” भट्टराईले जोड दिए।

पछिल्ला वर्षमा उदाएका नयाँ दल र स्वतन्त्र राजनीतिक व्यक्तित्वहरूलाई एउटै प्लेटफर्ममा ल्याउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। उनले उदाहरण दिँदै भने, “राजनीतिक चेतसहितका युवाहरू छन्— नयाँ शक्ति, विवेकशील, रास्वपा, बालेन शाह, हर्क साम्पाङ— सबैलाई एउटै ठाउँमा ल्याउन सकियो भने वैकल्पिक शक्ति निर्माण हुन्छ।”

यदि एउटै प्लेटफर्म सम्भव नभए मोर्चा बनाएर अघि बढ्ने विकल्प पनि खुला रहेको भट्टराईले सुझाए।

बुधबार नेसपाको अध्यक्ष पदबाट राजीनामा दिएका भट्टराईले अब स्वतन्त्र नागरिकको हैसियतमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको नयाँ अभियान सुरु गर्ने घोषणा समेत गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू