नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्व हस्तान्तरण प्रक्रिया विधिबाटै सम्पन्न हुने स्पष्ट पारेका छन्।
काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले युवा पुस्ताले चाहेको रूपान्तरणलाई सम्मान गर्दै नेतृत्व परिवर्तन पनि लोकतान्त्रिक विधि र प्रक्रियामार्फत हुने बताए। उनले भने, “नेतृत्व सँधै अध्यक्षकै हातमा हुनुपर्छ भन्ने होइन, तर कसैले कसैलाई ल नेतृत्व गर भनेर पनि नेतृत्व हस्तान्तरण हुँदैन। विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ।”
एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले आफ्नो सम्बोधनमा विधि र प्रक्रियामार्फत मात्र नेतृत्वको निरन्तरता वा परिवर्तन सम्भव हुने कुरा जोड दिए।
उनको सम्बोधनपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले वक्तव्य दिइरहेका छन् भने अन्य पदाधिकारीलाई पनि बोल्ने अवसर दिने तयारी छ। बैठकमा प्रदेश अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत गर्ने र समूहगत छलफलमार्फत बैठक सक्ने माओवादी केन्द्रको कार्यक्रम तय भएको छ।
प्रतिक्रिया दिनुहोस्