सन् २०२५ को अक्टोबर महिनामा नेपालमा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक भित्रिएका छन्। पदयात्रा र पर्वतारोहणका लागि मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटकले नेपाल भ्रमण गरेका हुन्।
नेपाल पर्यटन बोर्ड (NTB) का अनुसार, अक्टोबर महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतबाट मात्रै १७ हजार २९८ जना पर्यटक नेपाल आएका हुन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, र बेलायतबाट ८ हजार ७१८ जना पर्यटक नेपाल पुगेका छन्।
त्यस्तै, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६ पर्यटक आएका छन्। युरोपेली देशहरूबाट आउने पर्यटकहरूको हिस्सा कूल पर्यटकको ३१.६ प्रतिशत रहेको छ, जसअनुसार युरोपबाट मात्रै ४० हजार ६० जना पर्यटक नेपाल आएका हुन्।
सार्क राष्ट्रहरूबाट आउने पर्यटकको हिस्सा २२.६ प्रतिशत रहेको पर्यटन बोर्डले जनाएको छ। भारतसहित सार्क मुलुकहरूबाट अक्टोबर महिनामा २९ हजार ६० पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै, अन्य एसियाली देशहरूबाट २३ हजार १२७ पर्यटक नेपाल आएका छन्।
गत वर्षको तुलनामा यस वर्षको पर्यटक आगमनमा सुधार भएको छ। सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक आएका थिए भने सन् २०२५ को अक्टोबरमा यो संख्या ३.३ प्रतिशतले वृद्धि भई एक लाख २८ हजार ४४३ पुगेको हो।
पर्यटन बोर्डका तथ्यांकअनुसार सन् २०२५ को पहिलो १० महिनामा (जनवरी–अक्टोबर) कुल नौ लाख ४३ हजार ७१६ विदेशी पर्यटक नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा नौ लाख ४१ हजार २४ पर्यटक आएका थिए, जसले नेपाल भ्रमणमा सकारात्मक वृद्धिको संकेत गरेको बोर्डले जनाएको छ।
नेपालमा हाल अक्टोबर महिना अझै पनि विदेशी पर्यटकहरूको मनपर्ने मौसमका रूपमा स्थापित भइरहेको देखिन्छ, जसमा हिमाल आरोहण, पदयात्रा, र सांस्कृतिक पर्यटन प्रमुख आकर्षण बनेका छन्।
प्रतिक्रिया दिनुहोस्