काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थललगायत संवेदनशील र सार्वजनिक सेवासँग सम्बन्धित क्षेत्रमा यो सेवा विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ उपलब्ध रहेका स्थानमा मर्मतसम्भार, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने नयाँ तीनसहित आठ स्थानमा वाइफाइ सेवा जडान गरिएको हो। अब नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा विस्तार र नयाँ स्थापनासहित सञ्चालनमा ल्याइएको छ।
त्यसैगरी काठमाडौँको ठूलोभर्याङ यातायात व्यवस्था कार्यालय, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता अभिवृद्धि भइरहेको छ भने भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा नयाँ जडानको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
सेवाको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीहरूसँग सम्झौता गरिसकेका छन्। नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेट कम्पनीले संयुक्त रुपमा निःशुल्क वाइफाइ स्थापनामा सहकार्य गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्री खरेलको सक्रियतामा सेवाप्रदायक कम्पनीहरूसँग समन्वय गरी वाइफाइ पहुँच विस्तार गरेको हो। प्राधिकरणका अनुसार वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, गङ्गालाल हृदय केन्द्र, माथेमा उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा इन्टरनेट गति १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस र प्रत्येक डिभाइसको डेटा सीमा १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ।
नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने योजना समेत अघि सारेको छ। भक्तपुर क्यान्सर अस्पतालमा छ र कीर्तिपुर अस्पतालमा पाँच एक्सेस प्वाइन्टसहित नयाँ सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
गत असोज ६ गते मन्त्री खरेलले पदभार ग्रहणका क्रममा पहिलो निर्णयकै रूपमा दुई महिनाभित्र काठमाडौँ उपत्यकाका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने घोषणा गरेका थिए। मन्त्रालयका अनुसार उपत्यका बाहिरका १० प्रमुख सहरहरूमा पनि यस कार्यक्रमको तयारी सुरु भइसकेको छ।
निःशुल्क वाइफाइ सेवा सञ्चालनको अवस्थाबारे प्रत्यक्ष अनुगमन गर्न मन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस्