हङकङमा जारी सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। छोटो फर्म्याटको यस प्रतियोगितामा नेपालले खेलको सुरुवात जितसहित गर्न नसके पनि उत्कृष्ट व्यक्तिगत प्रदर्शनले दर्शकको ध्यान खिच्यो।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ११२ रनको पहाड उभ्यायो। उसका लागि करिम जनातले १० बलमा चार छक्कासहित ३५ रनको विस्फोटक पारी खेले। त्यस्तै गुलबदिन नायब र सिदिकुल्लाह पचले समान २२–२२ रन जोडे। नेपालका बलर राशिद खानले शानदार प्रदर्शन गर्दै ह्याट्रिकसहित चार विकेट लिए भने लोकेश बमले एक विकेट हात पारे।
लक्ष्य पछ्याउने क्रममा नेपालका सन्दीप जोराले आक्रमक ब्याटिङ प्रस्तुत गरे। उनले १४ बलमा आठ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए। तर अन्य ब्याट्सम्यानले साथ नदिँदा नेपाल निर्धारित ६ ओभरमा दुई विकेटको क्षतिमा ९५ रनमा सीमित रह्यो।
सिक्स ओभरको यो छिटो गतिको क्रिकेटमा आक्रमक रणनीति र तीव्र निर्णय क्षमताको परीक्षा लिइन्छ। नेपालले हार बेहोरे पनि सन्दीप जोराको प्रदर्शनले आगामी खेलमा टोलीका लागि आत्मविश्वास जगाएको छ।
प्रतिक्रिया दिनुहोस्