Ads

नेपाली क्रिकेटको उचाइ आकस्मिक होइन, दीर्घ प्रयासको नतिजा : पारस खड्का


नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा हाल देखिएको सकारात्मक रूपान्तरण कुनै छोटो समयको प्रयास नभई दुई दशकको निरन्तर मेहनतको नतिजा भएको बताएका छन्।

शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र क्यानको सहकार्यमा आयोजित ‘एनपीएल मिडिया डे’ कार्यक्रममा बोल्दै पारसले नेपाली क्रिकेटको प्रगति दीर्घकालीन लगानी र निरन्तर अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका कारण सम्भव भएको स्पष्ट पारे।

उनले भने, “नेपाली क्रिकेटमा आएको परिवर्तन एक सचिव परिवर्तन भएर आएको होइन। हामी पछिल्लो दुई दसकादेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका छौँ, त्यसकै परिणाम आज देखिँदै छ। पछिल्ला २० वर्षको प्रयासले गर्दा आज नेपाल प्रिमियर लिगले आफ्नो पहिचान बनाउन सफल भएको हो।”

सचिव खड्काले कुनै पनि संस्थाको कमजोरी पहिचान गर्दा केवल आलोचना मात्र नभई त्यसका सुधारात्मक विकल्प दिन सक्नु पनि आवश्यक रहेको बताए।
उनका अनुसार, “गलत भए मूल्यांकन र आलोचना हुनैपर्छ। तर आलोचना गरेर मात्र समाधान हुँदैन, त्यसको विकल्प पनि दिन सक्नुपर्छ,”

गत वर्ष मंसिरमा सम्पन्न पहिलो संस्करणपछि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण पनि यही वर्ष मंसिरमै आयोजना हुँदैछ। प्रतियोगिता मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम तय गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू