कैलालीको टीकापुरमा वि.सं. २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव–निर्मित पार्कका रूपमा चिनिन्छ। ऐतिहासिक र प्राकृतिक रूपमा आकर्षक मानिने यो पार्कमा तत्कालीन राजाहरूका नाममा बनाइएका महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायतका संरचनाहरू रहेका छन्। तत्कालीन राजा महेन्द्र एक महिना टीकापुरमै बसेर स्वास्थ्य लाभ लिएका कारण उनका लागि रातारात निर्माण गरिएको काठको घर—महेन्द्र आरोग्य गृह—आज पनि ऐतिहासिक स्मृतिको रूपमा संरक्षण गरिएको छ।
वि.सं. २०२८ मै भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति गठन भई १७३ बिघा क्षेत्रमा शहरी विकासको जिम्मेवारी दिइए पनि हाल पार्क ८५ बिघा क्षेत्रमा सीमित छ, जसको करिब १३ बिघा क्षेत्रमा बंगला, नर्सरी र बगैँचा छन्। पार्कसँगै रहेको कर्णाली नदीको किनार, गुलाबबगैँचा र नौ बिघा क्षेत्रमा फैलिएको फलफूल तथा फूलको क्षेत्र वनभोज र घुमफिरका लागि मुख्य आकर्षण बनेका छन्।
पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया–कैलाली जोड्ने सतिघाट पुल सञ्चालनमा आएपछि टीकापुरमा पर्यटक चाप बढ्ने अपेक्षा गरिएको भए पनि सोअनुसार वृद्धि हुन सकेको छैन। स्थानीय सरोकारवालाका अनुसार, टीकापुर पार्कमा संरचना, इतिहास र प्राकृतिक सौन्दर्य पर्याप्त भए पनि प्रभावकारी प्रचार–प्रसार नहुनुले पर्यटन विस्तारमा बाधा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्