नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणअन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दुई रोमाञ्चक खेल हुन हुँदैछन्।
पहिलो खेल बिहान ११:४५ बजेबाट सुरु हुनेछ, जहाँ चितवन राइनोज र कर्णाली याक्स एक–अर्कासँग भिड्नेछन्। चितवनलाई कुसल मल्लले कप्तानी गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले सम्हाल्नेछन्।
दोस्रो खेलमा बिराटनगर किङ्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् भने पोखराको कप्तानी कुशल भुर्तेलले गर्ने तय भएको छ।
चारै टोली आजको खेलमार्फत प्रतियोगितामा जित निकाल्दै सफल सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
यसअघिको सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोर्खाजले उत्कृष्ट सुरुआत गरिसकेको छ। सो जितसँगै काठमाडौँले अंकतालिकामा २ अंक जोडिसकेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको फाइनल खेल मङ्सिर २७ गते हुनेछ।
प्रतियोगिताका विजेताले रु १ करोड १० लाख पुरस्कार रकम प्राप्त गर्ने क्यानले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्