नेपाल प्रिमियर लिग (एनपिएल)मा प्लेअफको आशा जोगाइराख्न जनकपुर रोयल्स आज चितवन टाइगर्स विरुद्ध अत्यावश्यक जित खोज्दै मैदान उत्रिएको छ। टस हारेर पहिला बलिङ गर्न बाध्य बनेको जनकपुरका लागि यो खेल ‘डु–अर–डाइ’भन्दा कम छैन।
लिग चरणमा अहिलेसम्म एकपटक पनि विजयको स्वाद चाख्न नसकेको जनकपुरले लगातार चार खेलमा पराजय भोगिसकेको छ। अब बाँकी तीनै खेलमा जित हासिल गर्नुपर्ने बाध्यता त छँदैछ, साथै अन्य टिमको नतिजा पनि आफ्नो पक्षमा परेकै अवस्थामा मात्र उसले प्लेअफ यात्रा कायम राख्न सक्छ। आज पराजित हुने हो भने जनकपुर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ।
अर्कोतर्फ, चितवन टाइगर्स ४ खेलमा २ जितका साथ ४ अंक बटुलेर अपेक्षाकृत सहज स्थितिमा रहेको छ। आजको खेल जित्दै चितवनले प्लेअफमा आफ्नो दाबेदारी मजबुत बनाउन चाहन्छ। हार भएमा भने बाँकी दुवै खेल जितेर अन्य टिमको नतिजा पर्खिनुपर्ने दबाब उसमाथि आउनेछ।
चितवनले यसअघि कर्णाली याक्स र विराटनगर किङ्सलाई पराजित गर्दै दुई जित हात परेको छ भने लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजसँग हार व्यहारेको थियो। अब चितवनका लागि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँगका खेलहरू बाँकी छन्।
जनकपुरले लिगमा काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजय भोग्दै कठिन सुरुवात गरेको छ।
आजको महत्त्वपूर्ण भिडन्तका लागि दुवै टिमले दुई–दुई परिवर्तन गरेका छन्।
चितवनले दीपक बोहरा र रिजन ढकालको सट्टा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई प्लेइङ–११ मा स्थान दिएको छ।
जनकपुरले ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्टलाई पुनः सुरुवाती टोलीमा समावेश गरेको छ।
प्रतिक्रिया दिनुहोस्