प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिमा अपाङ्गता भएका व्यक्तिको अपनत्व, नेतृत्व र ऐक्यबद्धतालाई प्राथमिकतामा राख्दै अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने पूर्ण प्रतिबद्धता व्यक्त गरेकी छन्।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहभागिता तथा पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न सरकार निरन्तर क्रियाशील रहेको बताएकी छन्।
सन्देशमा उनले अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था तथा अपाङ्गताको गम्भीरतालाई ध्यानमा राख्दै सेवा–सुविधामा प्राथमिकता प्रदान गर्ने र सबै अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक, समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति स्पष्ट पारेकी छन्। साथै, भौतिक, दृष्टिकोणजन्य, सञ्चार, कानुनी लगायतका अवरोध हटाएर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सहज र पहुँचयुक्त अवस्था सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवन सुनिश्चित गर्न अपाङ्गता रोकथाम, पुनःस्थापना, रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहको सरकारको संयुक्त प्रयास आवश्यक रहेको र यसबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेकी छन्।
साथै, नेपालको संविधान, अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेको पनि उनले स्मरण गराइन्।
प्रधानमन्त्री कार्कीले आजको दिवसले अपाङ्गता क्षेत्रका सरकारी र गैरसरकारी संस्था तथा सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्तिका अधिकार, हित र संरक्षणमा अझ सक्रिय भएर कार्य गर्ने प्रेरणा र ऊर्जा प्रदान गर्ने कामना व्यक्त गरेकी छन्।
प्रतिक्रिया दिनुहोस्