म्याग्दीको बेनी नगरपालिका ९ स्थित तोरीपानी गाउँ प्रकृतिप्रेमी र हिमाल दर्शनका शौखिन पर्यटकको पर्खाइमा छ। धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खलाको अनुपम दृश्यसँगै शान्त वातावरण र यहाँ उत्पादन हुने मसलेदार टिमुर तोरीपानीको प्रमुख पहिचान हुन्।
बेनीबाट करिब ३० मिनेटको सवारीसाधन यात्रा पछि पुगिने यो गाउँ समुद्र सतहदेखि करिब १,७५० मिटर उचाइमा अवस्थित छ। यहाँको प्रमुख जीवनयापन टिमुर खेती, पशुपालन र अन्य कृषिजन्य गतिविधिमा आधारित छ। अधिकांश घरपरिवार व्यवसायिक रूपमा टिमुर खेतीमा संलग्न छन्, जसबाट उत्पादित टिमुर देश–विदेशमा निर्यात पनि हुने गर्दछ। यहाँका स्थानीयले टिमुरलाई आफ्नो जीवनशैली, खानपान र सांस्कृतिक पहिचानसँग जोडेर हेर्छन्।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार, “पहाडको काख र हिमालको नजिक रहेको तोरीपानी गाउँ पर्यटकको लागि अत्यन्त आकर्षक गन्तव्य हो। शान्त वातावरण, मनोरम दृश्य र बेनीसँगको नजिकको दूरीले यहाँ सहज पहुँच सुनिश्चित गर्दछ।” उहाँले स्थानीय मौलिकता, अर्गानिक खानपान, स्वागत सत्कार र सांस्कृतिक संरक्षणमा विशेष जोड दिनुपर्ने सुझाव दिनुभयो।
पर्यटक सुविधा सुनिश्चित गर्न स्थानीयहरूले सामुदायिक होमस्टे सञ्चालन गरेका छन्। सामुदायिक घरबास समूहका सदस्य इवगिरी सन्यासीले जानकारी दिए अनुसार, पाहुनालाई आत्मीयता र मौलिकतापूर्वक स्वागत गर्ने प्रचलन छ। यहाँ परम्परागत गीत, नृत्य र स्थानीय परिकारमार्फत पाहुनालाई गाउँको साँस्कृतिक अनुभूति गराइन्छ।
तोरीपानी मात्र हिमाल अवलोकनको लागि नभई आसपासका धार्मिक र प्राकृतिक स्थलहरूको भ्रमणको केन्द्र पनि हो। रावणपार्क, पछैं, ढोलठाना, जगन्नाथ र टोड्केलगायतका पर्यटकीय स्थलहरू यहाँबाट सजिलै पुग्न सकिन्छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार, पर्यटकीय पूर्वाधार निर्माण, सडक सुविधा र होमस्टेको प्रवर्द्धनमार्फत तोरीपानीलाई पूर्ण रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ।
बेनीमा आउने पारिवारिक पर्यटकका लागि तोरीपानी उपयुक्त गन्तव्य बनेको वडाध्यक्ष चक्रबहादुर केसीले बताए। साथै, तोरीपानी हुँदै पैदल यात्रा वा सडक मार्ग प्रयोग गरी बेनी नगरपालिका, रघुगंगा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के पनि पुग्न सकिन्छ।
तोरीपानीले प्राकृतिक सुन्दरता, सांस्कृतिक अनुभव र कृषि–पशुपालनसँग जोडिएको पर्यटन अवसरलाई एकसाथ प्रस्तुत गर्दै म्याग्दीको पर्यटकीय नक्शामा महत्वपूर्ण स्थान बनाउन सक्ने क्षमता राखेको छ।

प्रतिक्रिया दिनुहोस्