नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने महत्वपूर्ण खेलका लागि टस सम्पन्न भएको छ। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेका छन्। पिचको व्यवहार र प्रारम्भिक ओसको सम्भावनालाई ध्यानमा राख्दै लुम्बिनीले रणनीतिक रूपमा बलिङ रोजेको देखिन्छ।
५ खेलमा ४ जितसहित ८ अंक बटुलेको विराटनगर किङ्स आजको खेल जित्न सके प्लेअफ स्थान पक्का गर्नेछ। उत्कृष्ट लयमा रहेको विराटनगरका लागि यो खेल ‘डु–अोर–मेक’ जस्तै अवसर बनेको छ।
विराटनगरको टोलीमा दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डुप्लेसी समावेश भइसकेका छन्। शेहान जयसूर्याको स्थानमा भित्र्याइएका डुप्लेसीले टप–अर्डरलाई थप मजबुत बनाएको छ, जसले लुम्बिनीका बलरहरूलाई कडा चुनौती दिन सक्छ।
उता लुम्बिनी लायन्सले आफ्नो प्लेइङ–११ मा एक परिवर्तन गरेको छ। आईएल टी–२० खेल्न दुबई फर्किएका गुल्बादिन नाइबको स्थानमा जेजे स्मिथ सामेल भएका छन्। ५ खेलमा २ जित र ४ अंक मात्र रहेको लुम्बिनीलाई प्लेअफ आशा जिवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ। पराजित भएमा लुम्बिनीका लागि प्लेअफको सम्भावना झिनो मात्र रहनेछ।
आजको भिडन्त दुवै टोलीका लागि निर्णायक मानिएको छ—विराटनगरलाई प्लेअफ टिकटको, लुम्बिनीलाई अस्तित्व जोगाउने लडाइँको।
प्रतिक्रिया दिनुहोस्