Ads

लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज लिग चरणको अन्तिम खेल सम्पन्न हुँदैछ। अपराह्न ३:३० बजे हुने उक्त खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

छ–छ खेलबाट समान २ अंक मात्रै जोड्न सफल यी दुई टोली पहिले नै प्रतियोगिताबाट बाहिरिइसकेका कारण आजको खेल प्रतिष्ठा जोगाउने अवसर मात्र बनेको छ। कर्णाली याक्सको नेतृत्व सोमपालKamiले गरिरहेका छन् भने जनकपुर बोल्ट्सका मार्की प्लेयर आशिफ शेख टोलीका मुख्य आकर्षण मानिएका छन्। लगातार कमजोर प्रदर्शनका कारण जनकपुर टोलीले यो सिजनमा कप्तानसमेत पटक–पटक परिवर्तन गर्दै आएको छ।

यसअघि नै सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्लेअफको क्वालिफायर चरणमा प्रवेश गरिसकेका छन्। त्यस्तै काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।

एनपीएलको दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गराएर सञ्चालन हुँदै आएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९,४५० टिकट बिक्रीका लागि उपलब्ध गराउँदै आएको छ। मंसिर १ गतेदेखि सुरु भएको लिग मंसिर २७ गतेसम्म चल्नेछ।

कुल ३२ खेल समावेश एनपीएलमा लिग चरणदेखि तीन प्लेअफ र फाइनलसमेत समेटिएको छ। टिकट दर यसप्रकार छन्—

  • शनिबारको खेल: साधारण ५००, प्रिमियम १,५००

  • लिग चरण तथा अन्य दिन: ५०० र १,०००

  • प्लेअफपछि: जनरल १,०००, प्रिमियम २,०००

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा रहेका छन्।

Ads

सम्बन्धित पोष्टहरू