Ads

सरकार लयमा अघि बढिरहेको छ, निर्वाचन निर्धारित समयमा नै हुन्छ


अर्थमन्त्री डा. रामेश्वर खनालले सरकार प्राप्त जिम्मेवारीअनुसार लयबद्ध ढंगले काम गरिरहेको बताएका छन्। आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकार आफ्नो भूमिकाप्रति स्पष्ट र जिम्मेवार रहेको धारणा राखे।

अर्थमन्त्री खनालले शासन प्रणालीमा विधि तथा प्रक्रियाको सुधार सम्भव भए पनि सही व्यक्तिमाथि गलत कारबाहीले प्रणाली नै कमजोर बन्ने चेतावनी दिए।
“विधि ठीक नभए सुधार गर्न सकिन्छ, तर योग्य व्यक्तिमाथि अनावश्यक कारबाही भयो भने निरुत्साहित हुन्छ,” उनले भने, “यदि कसैले अपराध गरेको छ भने त्यसको सजाय दिन सरकार तयार छ, तर सडक, सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट मनगढन्ते टिप्पणी गर्नु हुँदैन।”

उनले पछिल्लो समय उठान भैरहेको जेनजी आन्दोलन आर्थिक समृद्धिमात्र होइन, राज्यको समग्र शासन प्रणाली पारदर्शी बनाउनतर्फ केन्द्रित रहेको बताए। खनालले राज्यका शक्तिशाली निकाय तथा व्यक्तिबाटै भ्रष्टाचार बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै, सेवा प्रवाह पारदर्शी र जवाफदेही हुनुपर्ने जेनजी आन्दोलनको मागलाई औचित्यपूर्ण बताए।

अर्थमन्त्री खनालले निर्वाचनलाई कुनै हालतमा सार्न नहुने स्पष्ट गर्दै भने, “निर्वाचन सार्नु भनेको देशलाई अनिश्चित दिशातिर धकेल्नु हो। यसको प्रभाव राज्यका सबै तहमा नकारात्मक रूपमा पर्छ।”
उनका अनुसार सरकारले समयमै निर्वाचन सम्पन्न गराउनेतर्फ पूर्ण प्रतिबद्धता जनाएको छ। सबै दल र नागरिकको सहमतिमा सुरक्षित, भयरहित र निष्पक्ष निर्वाचन गराएर नेपालले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक लोकतान्त्रिक छवि कायम राख्नुपर्ने उनले जोड दिए।

उनले निजी क्षेत्रलाई देशको आर्थिक मेरुदण्ड भन्दै त्यसमाथिका अनावश्य आक्रमण गलत भएको स्पष्ट गरे।
“निजी क्षेत्रले निर्माण गरेको संरचना र सम्पत्ति अन्ततः नेपाली जनताको नै हो। उनीहरू निश्चित अवधिपछि छोडेर जाने नै हुन्छन्,” अर्थमन्त्री खनालले भने, “त्यसैले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्छ।”

अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति सकारात्मक मूल्यांकन गरिरहेको दाबी गर्दै अर्थमन्त्री खनालले सरकारको कार्यशैली अझ प्रभावकारी बनाउन निरन्तर सुधार आवश्यक रहेको औँल्याए। जनअपेक्षा र राष्ट्रिय आर्थिक लक्ष्यअनुरूप सरकार काम गरिरहेकाे उनको भनाइ छ।

Ads

सम्बन्धित पोष्टहरू