प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा हुने प्रायः सबै किसिमका आन्दोलनका क्रममा प्रहरी सधैँ निशानामा पर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले आन्दोलनका नाममा प्रहरी संरचनामाथि आक्रमण हुनु दुःखद र निन्दनीय भएको बताएका छन् ।
आइतबार जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्धस्थित प्रहरी कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले प्रहरीलाई आवश्यक पर्दा प्रयोग गर्ने र नचाहिँदा दोष थोपर्ने प्रवृत्ति देखिँदै आएको टिप्पणी गरे । उनले यस अवस्थालाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने प्रवृत्तिका रूपमा व्याख्या गरे ।
प्रहरी महानिरीक्षक कार्कीले विगतका राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा पनि प्रहरी संरचनामाथि आक्रमण हुने क्रम दोहोरिँदै आएको उल्लेख गरे । उनले भने, “मूलभूत रूपमा प्रहरीका संरचनाहरू यसपटक पनि ध्वस्त भए । नेपालको इतिहासमा हेर्दा अघिल्ला राजनीतिक तथा अन्य आन्दोलनहरूमा पनि प्रहरी नै सधैँ तारोमा पर्ने गरेको देखिन्छ ।”
प्रहरीमाथि हुने आक्रमण रोक्न र शान्ति–सुरक्षा मजबुत बनाउन नागरिक र प्रहरीबीचको सहकार्य अनिवार्य रहेको उनले जोड दिए । सोही अवसरमा उनले मातहतका प्रहरी कर्मचारीहरूलाई नागरिकसँग साझेदारीमा काम गर्दै शान्ति सुव्यवस्था कायम गर्न निर्देशनसमेत दिएका छन् ।
उनका अनुसार प्रहरी र नागरिकबीचको विश्वास र सहकार्य सुदृढ भए मात्र आन्दोलनका नाममा हुने हिंसा, आगजनी तथा सार्वजनिक सम्पत्तिको क्षतिलाई नियन्त्रण गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्