Ads

चुनाव रोक्ने अधिकार जेन–जीलाई छैन : मेयर महर्जन


ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तोकिएको मितिमा निर्वाचन हुन नदिनु कसैको अधिकार क्षेत्रभित्र नपर्ने बताएका छन्। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन सफल बनाउन जेनजीसहित सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको स्पष्ट पारे।

हालका दिनमा जेनजी पुस्ताबाट व्यक्त भइरहेका केही अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै मेयर महर्जनले पछिल्लो समय उनीहरूको स्वर परिवर्तन भएको उल्लेख गरे। उनले लोकतान्त्रिक प्रक्रियामा निर्वाचन अपरिहार्य हुने भन्दै त्यसप्रति अवरोध सिर्जना गर्नु उपयुक्त नहुने धारणा राखे।

मेयर महर्जनले भने, “सम्मानीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा सरकार छ। उक्त सरकारको मुख्य जिम्मेवारी भनेको फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु हो। तर पछिल्लो कालखण्डमा जेनजीबाट ‘चुनाव हुन दिन्नौँ’ भन्ने अभिव्यक्ति आउन थालेको देख्दा चिन्ता लागेको छ। चुनाव गर्नैपर्छ, रोक्न पाइँदैन।”

उनले जेनजी पुस्तालाई ‘भाइबहिनी’को संज्ञा दिँदै उनीहरू अझै परिपक्व सोच विकासको चरणमै रहेको टिप्पणी गरे। लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबैले सरकारको काममा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोल्दै मेयर महर्जनले आफ्नो दुई कार्यकालमा ललितपुर महानगरभित्र उल्लेखनीय परिवर्तन गर्न सफल भएको दाबीसमेत गरे। उनले महानगरमा अहिले पनि दैनिक रूपमा नयाँ–नयाँ विकासका कामहरू निरन्तर रूपमा अघि बढिरहेको जिकिर गरे।

Ads

सम्बन्धित पोष्टहरू