Ads

शान्ति मिसनमा नेपालको अग्रस्थान, थप सहयोगका लागि तयार छौँ : प्रधानमन्त्री


प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सुरक्षाकर्मी योगदान गर्ने मुलुक बन्न सफल भएको बताएकी छन्।

बुधबार ललितपुरको पुल्चोकस्थित युएन हाउसमा आयोजित नेपाल–संयुक्त राष्ट्रसंघ साझेदारीको ७० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालले विश्व शान्ति स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन्।

उनले भनिन्, “आज नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सेना र प्रहरी योगदान गर्ने विश्वकै अग्रणी मुलुक बनेको छ। हाम्रा सुरक्षाकर्मीहरूले विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापना र स्थायित्वका लागि महत्वपूर्ण योगदान गरेका छन्। आवश्यकता परेमा संयुक्त राष्ट्रसंघलाई थप सहयोग गर्न नेपाल सधैँ तयार छ।”

समारोहमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन निर्धारित समयमै सम्पन्न गर्ने सरकारको प्रतिबद्धता पनि दोहोर्याइन्। मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै उनले निर्वाचन र सत्ता हस्तान्तरण शान्तिपूर्ण तथा लोकतान्त्रिक ढंगबाट हुने विश्वास दिलाइन्।

“फागुन २१ मा हुने निर्वाचनलाई लिएर विश्व समुदायले चासो व्यक्त गरेको छ,” उनले भनिन्, “म विश्व समुदायलाई विश्वास दिलाउन चाहन्छु कि हामी यो निर्वाचन समयमै सम्पन्न गर्नेछौँ। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ र सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको छ।”

प्रधानमन्त्री कार्कीले सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने लक्ष्यमा दृढ रहेको पनि बताइन्। यो नेपालका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले यस सफलतालाई दिगो बनाउन थप लगानी, प्रविधि हस्तान्तरण र संयुक्त राष्ट्रसंघसँगको निरन्तर साझेदारी अपरिहार्य रहेको औँल्याइन्।

सन् १९५५ डिसेम्बर १४ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेदेखि नै पञ्चशीलका सिद्धान्त र राष्ट्रसंघको बडापत्रलाई मार्गदर्शक मानेर अघि बढ्दै आएको स्मरण गर्दै प्रधानमन्त्री कार्कीले ७० वर्षको यात्रामा राष्ट्रसंघले नेपालको शान्ति, मानव अधिकार र विकासका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिन्।

“दोस्रो विश्वयुद्धपछिका पुस्तालाई युद्धको विभीषिकाबाट जोगाउने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको भूमिका बदलिँदो विश्व परिवेशमा अझ महत्वपूर्ण बन्दै गएको छ,” उनले भनिन्, “जलवायु परिवर्तन, क्षेत्रीय तथा विश्वव्यापी तनावजस्ता नयाँ चुनौतीहरूको सामना गर्न राष्ट्रसंघीय प्रणालीलाई अझ सुदृढ बनाउन सबैको साझा प्रयास आवश्यक छ।”

Ads

सम्बन्धित पोष्टहरू