Ads

आहा ! आलिताल


पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने डडेल्धुरास्थित आलितालको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि आलिताल गाउँपालिकाले योजनाबद्ध रूपमा काम सुरु गरेको छ। गाउँपालिकाको नाम नै यही ऐतिहासिक र धार्मिक महत्व बोकेको तालबाट राखिएको हो।

आलिताल–३ मा अवस्थित उक्त तालको संरक्षण तथा विकासका लागि आलिताल गाउँपालिका र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिको सहकार्यमा भौतिक पूर्वाधार निर्माणका कामहरू अघि बढाइएका छन्। गाउँपालिकाले चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण, सौन्दर्य अभिवृद्धि र थप संरचना विकासका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार गत आर्थिक वर्षमा २५ लाख रुपैयाँको लागतमा समैजी मन्दिर निर्माण सम्पन्न भइसकेको छ र त्यसको औपचारिक शुभारम्भको तयारी भइरहेको छ। धार्मिक आस्थालाई प्रवर्द्धन गर्ने उद्देश्यले स्काई ब्रिजलाई समेत धार्मिक संरचनासँग जोडेर विकास गरिएको उनले बताए। ताल क्षेत्रमा भ्यू–टावर निर्माण भइसकेको छ भने गाउँपालिकाको केन्द्रदेखि तालसम्म पुग्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण आलिताल पालिकाको पहिचान बोकेको प्रमुख सम्पदा भएको उल्लेख गर्दै अध्यक्ष पार्कीले पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटकको आगमन बढ्दै गएको बताए। ताल अझै विकासकै चरणमा रहे पनि भविष्यमा यसले महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूप लिने विश्वास व्यक्त गरे।

गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार विनियोजित बजेटबाट स्काई ब्रिज क्षेत्रमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क तथा ताल क्षेत्रको सौन्दर्य अभिवृद्धिका काम अघि बढाइनेछ। साथै तालदेखि करिब ५०० मिटर दूरीमा व्यवस्थित गाडी पार्किङ स्थल निर्माण गरी सोही स्थानमा वनभोज स्थल स्थापना गर्ने योजना पनि रहेको छ।

ताल अवलोकनका लागि आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले जानकारी दिए। गाउँपालिकाले आलितालसहित अन्य सम्भावित पर्यटकीय स्थलहरूको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसारलाई समेत तीव्रता दिएको छ। हाल दैनिक करिब एक सय जनाको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए।

महाभारत पर्वत शृङ्खलाको फेदमा अवस्थित आलिताल धार्मिक तथा प्राकृतिक महत्व बोकेको ताल हो। तालको लम्बाइ एक हजार १७५ मिटर र चौडाइ करिब ४०० मिटर रहेको छ भने यसको गहिराइ करिब २२ मिटर रहेको छ। हरियाली वन, डाँडा र प्राकृतिक भू–बनोटले घेरिएको आलिताल दृश्यात्मक रूपमा अत्यन्तै मनमोहक छ।

यो ताल बुडर (डोटी)–जोगबुढा (डडेल्धुरा) सडकखण्डअन्तर्गत पर्ने घुम्टीबजारबाट करिब तीन किलोमिटर दूरीमा अवस्थित छ।

आलितालको उत्पत्तिसँग जोडिएको जनश्रुति

आलितालको उत्पत्तिबारे स्थानीयस्तरमा रोचक किंवदन्ती प्रचलित छ। जनश्रुतिअनुसार आज ताल रहेको स्थान पहिले ठूलो खेत थियो, जहाँ असार महिनामा धान रोपाइँ हुने गर्दथ्यो।

कथनअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन्, जसमा उनलाई ‘भोलि खेतमा रोपाइँ गर्न गए अनिष्ट हुनेछ’ भनी चेतावनी दिइएको थियो। उनले उक्त सपना गाउँलेहरूलाई सुनाइन् तर कसैले विश्वास गरेन। भोलिपल्ट हलगोरु र किसानसहित खेतमा रोपाइँ गर्न जाँदा अचानक भीषण वर्षा सुरु भयो।

त्यही क्रममा विशाल राँगो र नाग प्रकट भएको र खेत डुबेर पानीले भरिँदै विशाल ताल बनेको जनविश्वास छ। रोपाइँमा गएका सबै किसान डुबेर मृत्यु भए भने खाना बनाइरहेकी एक महिलामात्र जीवित रहिन्। पछि शिव भगवानले उनलाई दर्शन दिएर देवी बनाई तालमै वास गराएको जनश्रुति छ।

पहिले खेत (आली) रहेको स्थानमा ताल बनेकाले यस स्थानको नाम ‘आलिताल’ रहन गएको विश्वास स्थानीयहरूले गर्दै आएका छन्।

Ads

सम्बन्धित पोष्टहरू