नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज आइतबार २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले ८४ दिन अवधिका लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) बोलकबोलमार्फत प्रयोग गर्न लागेको हो।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँ नाघिसकेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र बजार ब्याजदर सन्तुलनमा राख्न निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) मार्फत तरलता खिच्दै आएको छ।
आज हुने बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेका ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने प्रस्तावलाई प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
राष्ट्र बैंकका अनुसार आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ र ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। यसअन्तर्गत संकलित निक्षेपको सावाँ तथा ब्याज आगामी २०८२ चैत १ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन र बजार ब्याजदरलाई व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार संरचनात्मक खुला बजार कारोबारअन्तर्गत अधिकतम ६ महिनासम्मको अवधिका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने प्रावधान छ।
यही प्रावधानअनुसार नेपाल राष्ट्र बैंकले पछिल्लो समय पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्