Ads

मिराज र सुधनलाई सचेत गराउँदै रक्षा बमले भनिन्– देशको राजनीतिक कोर्स संसद पुनर्स्थापनाभन्दा अगाडि गइसक्यो


जेन–जी अगुवा रक्षा बमले नेपालको राजनीतिक यात्रा संसद पुनर्स्थापनाको चरणभन्दा धेरै अगाडि बढिसकेको दाबी गरेकी छन् । जेन–जीकै केही अगुवाहरूबाट संसद पुनर्स्थापनाको अभिव्यक्ति आइरहेको सन्दर्भमा आपत्ति जनाउँदै उनले अब नयाँ जनादेश लिएर मात्रै संसदमार्फत राजनीतिक निकास खोजिनु उपयुक्त हुने धारणा व्यक्त गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बमले जेन–जी अगुवा मिराज ढुंगाना र सुधन गुरुङप्रति संकेत गर्दै भनिन्, “तपाईंहरूले उठाइरहनुभएको संसद पुनर्स्थापनाको विषयमा हाम्रो देशको राजनीतिक कोर्स त्यहाँबाट धेरै अगाडि बढिसकेको छ । अब पश्चगामी दिशातर्फ फर्किनुभन्दा नयाँ जनादेश लिएर नयाँ संसदमार्फत मुलुकलाई निकास दिने र हाम्रा मुद्दाहरू सम्बोधन गर्ने बाटो खोजिनुपर्छ । अहिले सबैभन्दा आवश्यक कुरा राजनीतिक प्रक्रिया (Political Process) हो ।”

उनले जेन–जी युवाहरू कसैको स्वार्थपूर्तिका लागि राजनीतिक वा रणनीतिक गोटी बन्न नहुनेमा जोड दिँदै थप सचेत हुन आवश्यक रहेको उल्लेख गरेकी छन् । देशमा शान्ति, स्थायित्व र जिम्मेवार राजनीतिक अभ्यास अपरिहार्य भएको उनको भनाइ छ ।

त्यस्तै, रक्षा बमले जेन–जी अगुवा सुधन गुरुङले दिएको अभिव्यक्ति पितृसत्तात्मक सोचबाट प्रेरित भएको आरोप लगाउँदै कडा असन्तुष्टि व्यक्त गरेकी छन् । उनले महिलालाई कमजोर ठान्ने सोचप्रति आपत्ति जनाउँदै परिवर्तनका हरेक आन्दोलनमा महिलाको महत्वपूर्ण योगदान रहेको स्मरण गराइन् ।

“चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला,” उनले लेखेकी छन्, “स्त्रीद्वेषी टिप्पणी बन्द गर्नुस् र सम्झनुस्—परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूले रगत र पसिना बगाएका छन् । भदौ २८, २०८२ मा तपाईंले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा ढोग्नुभएको तथ्य पनि नबिर्सनुहोस् ।”

उनको भनाइले जेन–जी आन्दोलनभित्र देखिएको धारणा विभाजन, राजनीतिक दिशाबारेको बहस र लैंगिक संवेदनशीलतासम्बन्धी प्रश्नलाई पुनः सतहमा ल्याएको छ ।

Ads

सम्बन्धित पोष्टहरू