Ads

कांग्रेस नेता राठौरले रवि–बालेन सम्झौतालाई ठग र गँजेडीको मिलन भने


नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले नयाँ राजनीतिक शक्तिहरूप्रति कडा टिप्पणी गर्दै कम्तीमा १० वर्षसम्म पार्टी सञ्चालन गरेर देखाउन खुला चुनौती दिएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच देखिएको सहकार्यप्रति प्रतिक्रिया जनाउँदै उनले नयाँ भनिएका दलहरू व्यवहारिक रूपमा असफल भइरहेको दाबी गरे।

राठौरले रास्वपासँगै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको उदाहरण दिँदै भने, “ठूला–ठूला कुरा गर्ने नयाँ पार्टीहरूले ५ वर्ष पनि टिक्न सकेका छैनन्। १० वर्ष व्यवस्थित रूपमा पार्टी चलाएर देखाएपछि मात्रै हामीसँग बहस गरौँला।” उनले नेपाली कांग्रेस र एमालेजस्ता पुराना दलहरूले लामो संघर्षमार्फत राज्य व्यवस्था र जनअधिकार स्थापित गरेको उल्लेख गर्दै ती दलहरूको प्रशंसा पनि गरे।

नयाँ दलका नेताहरूमाथि आक्रामक शैलीमा प्रस्तुत भएका राठौरले “सहकारी ठग र गँजेडीहरूले देश चलाउन नसक्ने” टिप्पणी गरे। उनले बालेन साह र रवि लामिछानेलाई लक्षित गर्दै पपुलिस्ट राजनीतिले देशलाई संकटतर्फ धकेल्न सक्ने चेतावनी दिए।

युक्रेनको उदाहरण प्रस्तुत गर्दै राठौरले भने, “युक्रेनमा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज विश्वले देखिरहेको छ। नेपालमा पनि गैरजिम्मेवार दल, दलाल र पपुलिस्ट प्रवृत्तिले देशलाई त्यही बाटोमा लैजाने खतरा छ।” कांग्रेसले ८० वर्षको संघर्षमार्फत विकास र अधिकार स्थापित गरेको दाबी गर्दै उनले भ्रष्टाचार नियन्त्रणमा कमजोरी स्वीकारे पनि भविष्यमा आउने कुनै सरकारले पनि त्यसलाई पूर्णरूपमा नियन्त्रण गर्न नसक्ने दाबी गरे।

राठौरले आगामी फागुन २१ गते निर्वाचन हुन नसके देश गृहयुद्धतर्फ फस्न सक्ने गम्भीर चेतावनीसमेत दिएका छन्।

Ads

सम्बन्धित पोष्टहरू