नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर वृद्धि चुनौतीपूर्ण भए पनि अपरिहार्य आवश्यकता भएको बताएका छन्। बानेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको मूल दायित्वभित्र पर्नुपर्नेमा जोड दिए।
संयोजक दाहालले शिक्षा र स्वास्थ्यलाई नि:शुल्क बनाउने आफ्नो दीर्घकालीन चाहना रहेको उल्लेख गर्दै त्यस उद्देश्यका लागि सामुदायिक शिक्षाको गुणस्तर सुधारमा आफू सधैं साथ रहने प्रतिबद्धता जनाए। उनले हाल मुलुकले सामना गरिरहेको जटिल राजनीतिक अवस्थाको सन्दर्भ उठाउँदै ‘जेन–जी आन्दोलन’पछिको यो चरणमा देशको उत्तम विकल्प निर्वाचन नै भएको धारणा व्यक्त गरे।
देश संकटमा परेका बेला सबै राजनीतिक शक्ति, नागरिक समाज र युवाहरू एकजुट भएर निकास खोज्नुपर्ने उल्लेख गर्दै उनले राज्यलाई अराजकतातर्फ जान नदिनु आजको प्रमुख चुनौती भएको बताए। त्यसका लागि युवापुस्ताको भूमिका निर्णायक हुने उनको भनाइ थियो।
हालै देखिएको ‘जेन–जी आन्दोलन’बारे टिप्पणी गर्दै संयोजक दाहालले युवाहरू शासन प्रणाली र समग्र राष्ट्रिय परिस्थितिप्रति सचेत र जिम्मेवारीपूर्ण ढंगले आन्दोलित हुन थालेको स्पष्ट संकेत देखिएको बताए। “नयाँ पुस्ता राजनीतिप्रति उदासीन छ भन्ने भ्रम थियो, तर जेन–जी आन्दोलनले त्यो भ्रम चिरेको छ,” उनले भने।
सचेत र जिम्मेवार ढंगले आवाज उठाएकोमा युवाहरूलाई धन्यवाद दिँदै उनले अब मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत निकास दिनुपर्ने आवश्यकता औँल्याए। युवाहरूलाई अपिल गर्दै संयोजक दाहालले भने, “अब देशलाई शान्ति, लोकतन्त्र र विधिको बाटोबाट अगाडि बढाऔँ।”
प्रतिक्रिया दिनुहोस्