पाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता सुदृढ गर्दै आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन्।
‘४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को अवसरमा सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा महामन्त्री थापाले आजभन्दा ४९ वर्षअघि विषम राजनीतिक परिस्थितिमा बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’को आह्वान गर्दै स्वदेश फर्किएको ऐतिहासिक दिनको स्मरण गरेका छन्।
उनले सन्देशमा उल्लेख गरेका छन्, “राष्ट्रिय एकता र मेलमिलाप दिवसको ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्ने कामना गर्दछु।”
थापाका अनुसार परिवर्तनको यात्रामा एक–अर्कालाई विरोध र निषेधको दृष्टिले होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्वबोधका साथ अघि बढ्ने प्रेरणा आवश्यक छ।
महामन्त्री थापाले नेपाली कांग्रेस अहिले राष्ट्रिय भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वासको विन्दु खोजिरहेको उल्लेख गर्दै त्यो आत्मविश्वास पार्टीको एकताबाट मात्र सम्भव हुने बताएका छन्।
“यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्न सकिने साझा मञ्चको प्रयोगबाट मात्र सम्भव हुन्छ,” उनले स्पष्ट पारे।
उनका अनुसार वर्तमान सन्दर्भमा त्यो साझा मञ्च भनेको कांग्रेसको विशेष अधिवेशन नै हो।
“पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कुरा विधानतः बाध्यकारी मात्र होइन, पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ,” उनले भने।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस निर्माण गर्नु हरेक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै थापाले सोही जिम्मेवारी पूरा गर्न विशेष अधिवेशनको बाटो रोजिएको बताए।
“हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ,” उनको भनाइ छ।
साथै, उनले सम्पूर्ण पार्टी पंक्तिलाई दृढतापूर्वक हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरेका छन्।
अन्त्यमा महामन्त्री थापाले सबैलाई ‘४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्