ऊर्जा मन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको सूचीसँग जोडेर आफूविरुद्ध प्रकाशित समाचारप्रति कडा आपत्ति जनाउनुभएको छ। सञ्चारमाध्यममा आएका ती समाचारलाई उहाँले असत्य, भ्रामक र नियोजित भएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै मन्त्री घिसिङले ‘भान्जा’ भनेर प्रचार गरिएका व्यक्ति आफ्नो भान्जा नभएको स्पष्ट पार्नुभएको छ। साथै, ती व्यक्ति उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै समूहबाट सिफारिस भएका व्यक्ति भएको उहाँको भनाइ छ। त्यसैगरी, समानुपातिक सूचीमा आफ्नो ‘ससुरा’ भनेर उल्लेख गरिएका व्यक्ति पनि आफ्नो वास्तविक ससुरा नभएको उहाँले प्रस्ट पार्नुभएको छ।
समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना, दबाब वा हस्तक्षेपका आधारमा तयार नभएको उल्लेख गर्दै मन्त्री घिसिङले पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट सूची तयार गरिएको स्पष्ट गर्नुभएको छ।
‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थकेन्द्रित राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु,’ उहाँले भन्नुभएको छ, ‘त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन्।’
राजनीतिमा असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर कसैको चरित्रहत्या गर्ने प्रयास आपत्तिजनक भएको उहाँको टिप्पणी छ। बन्द सूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ।
‘म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु,’ मन्त्री घिसिङले भन्नुभएको छ, ‘त्यसैले भ्रामक समाचार र आधारहीन टीकाटिप्पणीको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।’
प्रतिक्रिया दिनुहोस्