काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज मंगलबार आफ्ना केन्द्रीय सदस्यहरूलाई औपचारिक रूपमा शपथ गराउँदै छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब २५ सय केन्द्रीय सदस्यलाई शपथ गराउन लागेका हुन्।
उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले दिउँसो साढे १ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ। उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरूले भने आ–आफ्ना प्रदेश तथा जिल्ला पार्टी कार्यालयबाट एकसाथ शपथ ग्रहण गर्नेछन्।
काठमाडौंमा प्रचण्डले प्रत्यक्ष रूपमा शपथ गराइरहँदा प्रदेश र जिल्लामा रहेका केन्द्रीय सदस्यहरू भर्चुअल माध्यममार्फत एकै समयमा शपथ कार्यक्रममा सहभागी हुनेछन्।
गत १९ कात्तिकमा नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीलगायत १६ राजनीतिक दलबीच एकता भई नेकपा गठन भएको थियो। पार्टी एकता सम्पन्न भए पनि केन्द्रीय सदस्यहरूको टुंगो लगाउन समय लागेकाले शपथ ग्रहण प्रक्रिया केही ढिलो भएको पार्टीले जनाएको छ।
आजको शपथसँगै नेकपाले संगठनात्मक संरचनालाई थप सुदृढ गर्दै आगामी राजनीतिक गतिविधिलाई तीव्रता दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्