Ads

कांग्रेस विशेष महाधिवेशनमाथि प्रश्न: ८८५ हस्ताक्षर फिर्ता भएको दाबी


नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी सभापति शेरबहादुर देउवा पक्षले गरेको छ।

शुक्रबार निर्वाचन आयोग पुगेर देउवा पक्षका नेताहरू पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले उक्त जानकारी दिएका हुन्।

नेता खड्काका अनुसार हस्ताक्षरकर्तामध्ये ८८५ जना विशेष महाधिवेशनको प्रक्रियाबाट अलग भएको जनाउँदै औपचारिक रूपमा आफ्नो हस्ताक्षर फिर्ता लिएका छन्। “ती प्रतिनिधिहरूले विशेष महाधिवेशन हुनुअघि र पछि मुख्यसचिवको हस्ताक्षरसहितको विवरण संलग्न गरी केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर निवेदन बुझाउन चाहेका छन्,” खड्काले बताए। उनका अनुसार कर्णाली प्रदेशका सबै हस्ताक्षरकर्ताहरूले समेत सामूहिक रूपमा उक्त निर्णय जानकारी गराउने तयारी गरेका छन्।

५४ प्रतिशतभन्दा बढी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको आह्वानमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि पार्टीभित्र विवाद थप चुलिएको छ।

यसै सन्दर्भमा, विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै देउवा पक्षका केन्द्रीय समिति सदस्यहरूले शुक्रबार निर्वाचन आयोग परिसरमा धर्ना दिएका छन्। पार्टीको आन्तरिक प्रक्रियाअनुसार नभएको भन्दै उनीहरूले आयोगलाई उक्त निवेदनमाथि सावधानीपूर्वक निर्णय लिन आग्रह गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू