Ads

विधानविपरीत ‘विशेष महाधिवेशन’, वैशाखमै नियमित महाधिवेशन हुने: कार्यवाहक सभापति खड्का


नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘विशेष महाधिवेशन’ को नाममा भेला आह्वान गर्नु पार्टी विधानविपरीत भएको आरोप लगाएका छन्। पार्टी विभाजनपछि सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले यस विषयमा आज मात्र निर्वाचन आयोग पुगेर वैधानिकताबारे गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए।

खड्काले पार्टीको कुनै पनि तहको महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय समितिबाहेक अन्य कसैलाई नरहेको स्पष्ट पारे। उनका अनुसार नेपाली कांग्रेसले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ र सर्वसम्मत निर्णयका आधारमा आगामी वैशाखमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भइसकेको छ।

उनले यसअघि सार्वजनिक गरिएको महाधिवेशन कार्यतालिका महामन्त्री गगन थापाले समयमै क्रियाशील सदस्यताको विवरण बुझाउन नसक्दा प्रभावित भएको दाबी गरे।

साथै, आफ्नै जानकारीबिना नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशन आह्वान गरिएको भन्दै खड्काले त्यसप्रति आपत्ति जनाउँदै यस्तो कदम पार्टी विधान र संगठनात्मक अभ्यासविपरीत भएको बताए।

Ads

सम्बन्धित पोष्टहरू