Ads

कांग्रेसको आधिकारिकता माग्दै सर्वोच्च पुग्यो देउवा समूह


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ। गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै देउवा समूहले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो।

पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खातीका अनुसार नेता पूर्णबहादुर खड्काको नेतृत्वमा देउवापक्षको टोली रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको हो। हाल उक्त रिट दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए।

रिट निवेदनमा विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान र विधिविधान विपरीत विशेष महाधिवेशन बोलाई नयाँ कार्यसमिति चयन गरेको दाबी गरिएको छ। देउवापक्षले सो विशेष महाधिवेशनलाई अवैधानिक घोषणा गर्न तथा त्यसका आधारमा निर्वाचन आयोगले दिएको आधिकारिकता खारेज गर्न माग गरेको छ।

विशेष महाधिवेशनबाट पद गुमाएपछि देउवा समूहको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगको निर्णय नमान्ने र न्यायिक उपचारका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। सोही निर्णयअनुसार कानुनी प्रक्रिया अघि बढाइएको देउवापक्षको भनाइ छ।

यस मुद्दाले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई थप कानुनी र राजनीतिक मोडमा पुर्‍याएको विश्लेषकहरूको भनाइ छ।

Ads

सम्बन्धित पोष्टहरू