Ads

हरिबोलमाथि कारबाहीपछि प्रचण्डविरुद्ध खनाल खुला विद्रोहमा


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वले नेताहरूमाथि गरेको कारबाहीप्रति कडा आपत्ति जनाएका छन्। उनले नेता हरिबोल गजुरेलसहित सात जनालाई स्पष्टीकरण दिने अवसरसमेत नदिई गरिएको कारबाही अन्यायपूर्ण भएको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

खनालले हरिबोल गजुरेलमाथि गरिएको कारबाहीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पार्टीभित्र संस्थागत निर्णय प्रक्रिया कमजोर बन्दै गएको गुनासो गरेका छन्। पार्टी एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला निर्णयहरू गर्दा आफूहरूसँग पर्याप्त छलफल नगरेको उनको आरोप छ।

उनले लेखेका छन्,
‘एकीकरण घोषणा भएको यति लामो समय बितिसक्दा पनि नेपाली कम्युनिस्ट पार्टीभित्र नेतृत्वदायी कमिटी नै गठन हुन नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिको इच्छाअनुसार ठूलाठूला निर्णयहरू हुनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेतामाथि स्पष्टीकरणको मौका नदिई पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु अत्यन्तै आश्चर्यजनक र दुःखद विषय हो। विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसमेत नहुनु र एकाएक सञ्चारमाध्यमबाट मात्रै थाहा पाउनु गम्भीर समस्या हो।’

खनालले हरिबोल गजुरेलमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। साथै, पार्टीभित्र संस्थागत छलफल, समीक्षा र सामूहिक निर्णय प्रक्रियालाई बेवास्ता गरिए पार्टी एकतामै गम्भीर संकट उत्पन्न हुन सक्ने चेतावनीसमेत दिएका छन्।

Ads

सम्बन्धित पोष्टहरू